राशिद खानले कप्तानबाट राजीनामा दिनुभयो
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । अफगानिस्तान क्रिकेट टोलिका कप्तान राशिद खानले कप्तानबाट राजीनामा गर्नुभएको छ । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटका लागि अफगानिस्तानले टोलिको घोषणा गरे लगत्तै राशिदले राजीनामा दिनुभएको हो ।
बिहीबार अबेर अफगानिस्तान क्रिकेटले विश्वकप खेल्ने टोलिको घोषणा गरेको थियो । टोलिका सदस्यको नाम सार्वजनिक हुँदै गर्दा कप्तान राशिदले राजीनामा दिनुभयो । उहाँले सामाजिक सञ्जालमा एक वक्तब्य जारी गर्नुहुँदै अफगानिस्तान क्रिकेट बोर्ड र चयनकत्र्ता समितिले आफ्नो सुझाबप्रति ध्यान नदिएको गुनासो गर्नुभएको छ । एक कप्तान र राष्ट्रको जिम्मेवार ब्यक्तिको हैसियतले मैले खेलाडी चयन प्रकृयामा सहभागी हुनु आफ्नो अधिकार सम्झेको उहाँले खुलाउनुभएको छ ।
आफू तात्कालै लागू हुने गरी अफगानिस्तान टी ट्वान्टी क्रिकेट टोलिको कप्तानबाट राजीनामा गरेको उहाँले उल्लेख गर्नुभएको छ । विश्वकप टी ट्वान्टीका लागि मोहम्मद नबीले कप्तानको जिम्मेवारी लिनुहुने बुझिएको छ ।
बोर्डले घोषणा गरेको टोलिमा रहमनुल्लाह गुर्बज, हज्रतुल्लाह जजै, उसमान घानी, अशगर अफगान, मोहम्मद नबी, नजीबुल्लाह जर्दन, हश्मतुल्लाह शाहिदी, मोहम्मद शहजाद, मुजीब उर रहमान, करिम जनत, गुलबद्दीन नईब, नवीन उल हक, हामिद हस्सन, शराफुद्दीन अशरफ, दौलत जर्दन, शपूर जर्दन र कैस अहमद हुनुहुन्छ ।