अमेरिकी ब्याट्सम्यानले एकै ओभरमा छ छक्का लगाउनुभयो
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । अमेरिकी ब्याट्सम्यान जसकरण मल्होत्राले एकै ओभरमा छ छक्का लगाउनुभएको छ । पपुवान्यूगिनी विरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा उहाँले उक्त कीर्तिमान बनाउनुभएको हो ।
पपुवान्यूगिनी विरुद्ध पहिला ब्याटिङ गरेको अमेरिकाले पुरा ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २७१ रनको सम्मानजनक योगफल तयार गर्यो । पचासौं ओभरमा अमेरिकी ब्याट्सम्यान जसकरण मल्होत्राले गौडी टोकाको एक ओभरको छ बलमा छ छक्का लगाउनुभयो ।
यसअघि उक्त कीर्तिमान दक्षिण अफ्रिकी ब्याट्सम्यान हर्सेल गिब्सको नाममा रहेको छ । उहाँले सन् २००७ मा उक्त कीर्तिमान बनाउनुभएको थियो । हर्सेल गिब्सले सन् २००७ को विश्वकप क्रिकेटमा नेदरल्याण्ड्स विरुद्ध एकै ओभरमा छ छक्का लगाउनुभएको थियो ।
पपुवान्यूगिनी विरुद्ध अमेरिकी मल्होत्राले मात्र १२४ बलमा १७३ रन बनाएर अविजित रहनुभयो । ३१ वर्षीय जसकरणको यसअघिको सर्वाधिक ब्यक्तिगत् योगफल मात्र १८ रन रहेको छ । दुई वर्षपछि उहाँ राष्ट्रिय टोलिमा फर्किनुभएको छ । उहाँले आफ्नो पारीमा १६ छक्का र चार चौका लगाउनुभयो । उहाँको उत्कृष्ट ब्याटिङले कुनै समय २९ रनमा तीन विकेट गुमाएको अमेरिकाले पचास ओभरमा नौ विकेटको क्षतिमा २७४ रनको सम्मानजनक योगफल तयार गर्यो । जवाबमा पपुवान्यूगिनी मात्र १३७ रनमा समेटिन पुग्यो ।
अन्तर्राष्ट्रिय एकदिवसीयमा शतक लगाउनुहुने उहाँ पहिलो अमेरिकी ब्याट्सम्यानको कीर्तिमान समेत बनाउनुभएको छ । यसअघि आरोन जोन्सले सन् २०१९ मा यूएई विरुद्ध बनाउनुभएको ९५ रन नै अमेरिकी ब्याट्सम्यानको अन्तर्राष्ट्रिय एकदिबसीयको सर्वाधिक ब्यक्तिगत् योगफल रहेको थियो ।