क्रिकेट | खेलकुद |

नेपालले सशक्त प्रतिद्वन्दी ओमानको सामना गर्दै

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । नेपालले दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आज ओमानको सामना गर्दैछ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तगर्तको दोस्रो खेलमा नेपालले सशक्त प्रतिद्वन्दी ओमानको आज सामना गर्दैछ ।
अमेरिकामाथि पाँच विकेटको जित हात पारेर प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओमानसँगको स्पर्धा चुनौतीपूर्ण हुनेछ । ओमान लिग–२ को सबैभन्दा सशक्त टोलि हो । सात टोलिमध्ये ओमान लिग तालिकामा शीर्ष स्थानमा छ । उसले १० खेलमध्ये आठ खेल जितेको छ ।
बिगत्को प्रदर्शन
ओमान र नेपाल अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा दुई पटक एक अर्काको सामना गरेको छ । दुबै खेल नेपालको घरेलु मैदानमा भएपनि नेपालले दुबैमा हार बेहोर्नुपरेको छ । पहिलो खेलमा १९७ रनको योगफल तयार गरेको ओमानले नेपाललाई १७९ रनमै रोकेर १८ रनको जित हात पारेको थियो । दोस्रो खेलमा नेपालले प्रस्तुत गरेको २५० रनको लक्ष्य ओमानले मात्र दुई विकेटको क्षतिमा पुरा गरेको थियो ।
पछिल्लो पटक कीर्तिपुर क्रिकेट रङशालामा सन् २०२० को फेब्रुअरीमा नेपालले ओमानको सामना गर्दा आठ विकेटको फराकिलो अन्तरको हार बेहोरेको थियो । नेपालले सम्मानजनक योगफल तयार गरेपनि हार बेहोर्नुपरेको कारण ओमानको ब्याटिङ गहिराइ हो । नेपाली बलरले रणनीति बनाएर ओमानलाई सस्तोमै समेटन प्रयत्नशील हुनुपर्छ ।

ओमानको ब्याटिङ
नेपाल विरुद्धको पछिल्लो खेलमा ओमानका अकिब इलियासले शतक लगाउनुभएको थियो । अकिब ओमानका सबैभन्दा भरपर्दा ब्याट्सम्यान हुनुहुन्छ । उहाँले दश खेलमा ६१० रन बनाउनुभएको छ । अकिबको उक्त प्रदर्शनले नै उहाँलाई आईसीसी विश्व वरीयताका ३८ औं स्थानमा पुर्याएको छ । अर्का ब्याट्सम्यान खावर अलि, कप्तान जीशन मकसूद र मध्यक्रमका मोहम्मद नदीम हुनुहुन्छ । कप्तान मकसूद अलराउन्डर हुनुहुन्छ । उहाँले दश अन्तर्राष्ट्रिय एकदिबसीयमा १९ विकेट लिनुभएको छ । तीनै ब्याट्सम्यानले आवश्यक परेको बेला ओमानलाई नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।
बिगत्को दुबै खेलको नतिजा विश्लेषण गर्दा ओमान बलिङ र ब्याटिङ दुबै विधामा उत्कृष्ट रहेको देखिन्छ । यद्दपी नेपालको ब्याटिङ र बलिङ दुबै पछिल्ला दिनमा सुधारिएको छ । र प्रतियोगितामा अमेरिकामाथि फराकिलो जितले समेत उच्च आत्मविश्वास रहेको नेपालले ओमानलाई घरेलु मैदानमा हराएर एक वर्षअघिको हारको बदला लिने उपयुक्त अबसर आएको छ ।
नेपालको शक्ति
पपूवा न्यूगिनी विरुद्धको दुबै अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा कमजोर देखिएको नेपालको ब्याटिङ अमेरिका विरुद्धको खेलमा लयमा आएको छ । उक्त लयलाई निरन्तरता दिनु आवश्यक हुनेछ । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेषले राम्रो सुरुवात दिलाउनुभएको छ । मध्यक्रममा रोहितकुमार पौडेल र बिनोद भण्डारीले जिम्मेवारी पुरा गर्नुभएको छ । कप्तान ज्ञानेन्द्र मल्लको ब्याटबाट समेत रन निस्किनु नेपालका लागि सुखद पक्ष हो । मैत्रीपूर्ण खेलमा कमजोर कडीको रुपमा उजागर भएको नेपालको ब्याटिङ लिग सुरु हुँदा सुधारिएको देखिन्छ । जसले गर्दा नेपालले २५० रनभन्दा बढी योगफल जोडन सक्ने र पछ्याउन सक्ने देखिएको छ ।
बलिङमा पपूवान्यूगिनी र अमेरिका विरुद्ध प्रभाबकारि देखिनुभएका सन्दीप लामिछानेको ओमान विरुद्धको प्रदर्शन फितलो देखिन्छ । दुई अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा उहाँले विकेटविहीन हुनुपरेको छ । बरु ओमानका ब्याट्सम्यानले सन्दीपलाई खुलेर खेलेका छन् । र खुलेर रन बटुलेका छन् । पछिल्लो खेलमा सन्दीपले दश ओभरमा ६५ रन खर्चिदा विकेट हात लागेन । पहिलो खेलमा समेत उहाँले दश ओभरमा ४५ रन खर्चिदा विकेट लिन सक्नुभएन ।
नेपालका लागि करण केसी ओमान विरुद्ध राम्रो प्रदर्शन गर्नुभएको छ । पहिलो खेलमा ओमानको चार विकेट लिनुभएका करणले दोस्रो खेलमा भने विकेटविहीन हुनुपर्यो । यद्दपी कुशल मल्ल र करण केसीको ‘इकोनोमी’ प्रभावकारी देखियो ।
नेपालले ओमान विरुद्ध उत्रिदा हरेक ब्याट्सम्यानलाई लक्षित गरी रणनीति बनाएर अघि बढ्नुपर्ने देखिन्छ ।