क्रिकेट | खेलकुद |

टी–२० सिरिजको ‘क्लीनस्वीप’ नजिक नेपाल

काठमाडौँ, मङ्सिर २ गते । पहिलो अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधि जितेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सिरिजमा ‘क्लीनस्वीप’ नजिक छ ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा जारी सिरजनको अन्तिम तथा तेस्रो खेलमा बिहीबार नेपालले कतारलाई जितको लागि एक सय ६५ रनको लक्ष्य दिएको छ । नेपालको यो स्कोर सम्मानजनक हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६४ रन बनाएको छ । नेपालका लागि सीता रानामगरले अविजित ८२ रनको बनाउनुभयो । यो उहाँको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक हो ।

यसैगरी ज्योती पाण्डेले २४, सरिता मगरले अविजित १७, डोली भट्टले र काजल श्रेष्ठले समान १२÷१२ रन बनाउनुभयो ।

बलिङमा कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले एक एक विकेट लिनुभयो । तीन खेलको सिरिजमा नेपालले यसअघि दुई खेल जितिसकेको छ । पहिलो खेलमा नेपालले कतारलाई एक सय १९ रनले हराएको थियो ।

बुधबार भएको दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गरेको थियो । नेपालले आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसियाली छनोटको तयारीका लागि कतारसँग तीन खेलको सिरिज खेलेको हो ।

विश्वकप छनोट खेल नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । नेपाली महिला टोली कतारबाट शुक्रबार दुबई जाने कार्यक्रम छ।