पीएम कपमा एपीएफको दोस्रो जित
धनगढी, पुस ७ गते । विभागीय टोली एपीएफ क्लबले धनगढीमा जारी प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । फाप्ला मैदानमा बुधबार भएको पहिलो खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ८९ रनले हरायो ।
टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २८ रन बनाएको थियो । एपीएफका लागि ओपनर ईन्दु बर्माले सर्वाधिक ३३ रन बनाउनुभयो । राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोड्नुभयो । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिनुभयो ।
एक सय २९ रनको विजयी लक्ष्य पछ्याएको सुदुरपश्चिम १४ ओभरमा सबै विकेटको क्षतिमा ३९ रनमा समेटिएको थियो । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुवि पोदारले समान १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो रन जोड्न सक्नुभएन । एपीएफका करुणा भण्डारीले चार विकेट लिनुभयो । सोनु खड्का, रेखा रावल र सीता रानामगरले एक एक विकेट लिनुभयो ।
अर्को ेखेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई सात विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी १७.१ ओभरमा सबै विकेटको क्षतिमा ३९ रनमा समेटिएको थियो । गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो रन जोड्न सक्नुभएन । प्रदेश नम्बर २ का लागि सन्तोषी चौधरीले तीन विकेट लिनुभयो । अनुराधा चौधरीले दुई तथा रोजी कडारी र सरस्वती चौधरीले सएक एक विकेट लिनुभयो ।
४० रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले १०.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । प्रदेश २ का लागि साना प्रविन ले १३ र अनुराधा चौधरीले १२ रन बनाउनुभयो । गण्डकी प्रदेशका शला क्षेत्रीले एक विकेट लिनुभयो ।
समूहमा लगातार दोस्रो जितसँगै एपीएफ सेमिफाइनल नजिक पुगेको छ । शीर्षस्थानमा रहेको एपीएफको चार अंक छ । सुदुर पश्चिम र प्रदेश २ को समान दुई अंक छ । लगातार दुई हार खेपेको गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ । पुस ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।