क्रिकेट | खेलकुद |

पीएम कप क्रिकेट : एपीएफ र सुदूरपश्चिम सेमिफाइनलमा

अविनाश चौधरी
धनगढी, पुस ८ गते । विभागीय टोली नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश धनगढीमा जारी प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लगातार तेस्रो जित हात पारेको एपीएफ समूह ‘बी’ को विजेता वन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सुदूरपश्चिमले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनायो । फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई एक सय १७ रनले हरायो । प्रदश नम्बर २ र गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ ।

सेमिफाइनलमा एपीएफले समूह ‘ए’ को उपविजेता लुम्बिनी प्रदेश तथा सुदुरपश्चिमले समूह ‘ए’ को विजेता प्रदेश नम्बर १ सँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले दिएको एक सय ५१ रनको विजय पछ्याएको गण्डकी निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ३३ रनमा समेटिएको थियो । गण्डकीका लागि कप्तान शिला क्षेत्रीले सर्वाधिक आठ रन बनाउनुभयो । गण्डकीका सुरुवाती चार खेलाडी शुन्य रनमा आउट हुनुभएको थियो ।

ग्ण्डकीलाई सस्तैमा समेट्न एपीएफका लकरुणा भण्डारी र सुष्मा श्रेष्ठले समान दुई दुई तथा सोनु खड्का, सुमन विष्ट र सिता रानामगरले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा चार विकेको क्षतिमा एक सय ५० रन बनाएको थियो ।

एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४३ रन बनाउनुभयो । रोमा थापा र सरिता रानामगरले समान २६-२६ रन तथा ज्योती पाण्डेले २४ रन बनाउनुभयो । बलिङमा गण्डकीकी मनिषा उपाध्यायले एक विकेट लिनुभयो ।

अर्को खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश २ लाई ८७ रनले हहरायो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो ।
सुदूरपश्चिमकी विन्दु रावलले अविजित ५० रन बनाउनुभयो ।

रुवि पोदारले २१, डल्ली भट्टले १५ तथा कविता जोशी र संगीता धामीले १३-१३ रन बनाउनुभयो । बलिङमा प्रदेश २ का लागि विमला मगरले दुई विकेट लिनुभयो । साना प्रविन र अनुराधा चौधरीले एक एक विकेट झार्नुभयो ।

एक सय ४४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ निर्धारित ओभरमा आठ विकेटको क्षतिमा ५६ रनमा समेटिएको थियो । प्रदेश २ का लागि साना प्रविनले अविजित १४ र विमला मगरले १२ रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले दुई दुई विकेट लिनुभयो । ईश्वरी विष्टले एक विकेट लिनुभएको थियो ।