यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा पराजित
काठमाडौँ, पुस ९ गते । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । युएईको सारजाह क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग एक सय ५४ रनले पराजित भएको हो ।
बंगलादेशले दिएको दुई सय ९८ रनको विशाल विजय लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रनमा समेटिएको थियो । नेपालका लागि गुलशन झाले सर्वाधिक ३५ रन बनाउनुभयो । विवेक मगरले ३३, विवेक यादवले २६, अर्जुन साउदले १५ र कप्तान देव खनालले १२ रन बनाउनुभयो ।
बलिङमा बंगलादेशका तान्जिम हसन शकिब, राकिबुल हसन, मेहेरुब र नइमुर रोहमानले दुई दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको टेस्ट टोली बंगलादेशले ५० ओभरमा चार विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको थियो ।
बंगलादेशका लागि प्रान्तिक नबिलले अविजित सतकीय पारी खेल्नुभयो । प्रन्तिकले एक सय २७ रन बनाउनुभयो । मोहमद फाहिमले ५८ र एच मोल्लहले २२ रन बनाउनुभयो । मेहरुव हसन र इफ्ताकर होसेनले समान २१÷२१ र महफिजुल इस्लामले १७ रन बनाउनुभयो । बलिङमा नेपालका गुलशन झा, तिलक राजभण्डारी र मोहमद आदील आलमले एक एक विकेट लिनुभयो ।
एसिया कपमा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ बाट नेपालसँगै श्रीलंका, बंगलादेश र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ मा पाकिस्तान, भारत, अफगानिस्तान र आयोजक युएई रहेका छन् ।
नेपालले दोस्रो खेल डिसेम्बर २५ मा श्रीलंका र समूह चरणको अन्तिम खेलमा डिसेम्बर २८ तारिख कुवेतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल डिसेम्बर ३० र फाइनल खेल जनवरी १ तारिख हुनेछ ।