नेपाल यू–१९ एसिया कप क्रिकेटबाट बाहिरियो
काठमाडौँ, पुस ११ गते । लगातार दोस्रो हारर खेपेपछि नेपाल युएईमा जारी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । सारजाह क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल टेस्ट टोली श्रीलंकासँग ६० रनले पराजित भयो । नेपाल पहिलो खेलमा बंगलादेशसँग एक सय ५४ रनले पराजित भएको थियो ।
जितका लागि श्रीलंकाले लिएको तीन सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ६२ रन मात्र बनाउन सक्यो । नेपालका लागि अर्जुन साउदले ६४ रन बनाउनुभयो । बसिर अहमेदले ४३, विवेक यादवले ४६, सन्तोष कार्कीले ३४, कप्तान देव खनालले २८ र गुलशन झा १३ रन बनाउनुभयो । श्रीलंकाका रभिन डी सिल्भा र मथिसा पाथिरानाले तीन तीन विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा चार विकेटको क्षतिमा तीन सय २२ रन बनाएको थियो । श्रीलंकाका लागि सदिशा राजपाक्षे र चामिन्दु विक्रमासिंगेले सतकीय पारी खेल्नुभयो । राजपाक्षेले एक सय ३१ र र विक्रमासिंगेले १ सय ११ रन बनाउनुभयो ।
कप्तान दुनिथ वेलालागेले अविजित ३४ र शेभोन डानिलले १७ रन बनाउनुभयो । बलिङमा नेपालका आदील आलमले दुई विकेट लिनुभयो । कप्तान देव खनाल र विवेक यादवले एक एक विकेट झार्नुभयो ।
समूह ‘बी’ मा रहेको नेपाल अंक बिहिन बन्दै समूहको अन्तिममा छ । नेपालले लिग चरणको अन्तिम खेल मंगलबार कुवेतसँग खेल्नेछ । नेपालको लागि उक्त खेल प्रतिष्ठाको लडाई हुनेछ । यस समूहबाट बंगलादेश र श्रीलंकासेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘ए’ मा पाकिस्तान, भारत, अफगानिस्तान र आयोजक युएई रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल बिहीबार हुनेछ । फाइनल खेल शनिबार खेलिनेछ ।