यू–१९ एसिया कप क्रिकेट : नेपालद्वारा कुवेतसामु बलियो लक्ष्य प्रस्तुत
काठमाडौँ, पुस १३ गते । यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतसामु जितका लागि दुई सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईको आईसीसी एकेडेमीमा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३९ रन बनाएको छ ।
नेपालका लागि बसिर अहमेद र विवेक मगरले अर्धसतकीय इनिङ्स खेल्नुभयो । अहमेदले ५६ र विवेकले ५० रन बनाउनुभयो । मोहमद आदील आलमले ४९, शेर मल्लले २१, दिपेश कँडेलले १५ र अर्जुन साउद १० रन बनाउनुभयो ।
बलिङमा कुवेतका मिर्जा अहमेद र अब्दुल साकिदले तीन तीन विकेट लिनुभयो । हेनरी थोमस र मोहमद वासटाकीले दुई दुई विकेट झार्नुभयो । समूह ‘बी’ मा रहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालका लागि कुवेतसँगको खेल प्रतिष्ठाको लडाइँ हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग एक सय ५४ रन र दोस्रो खेलमा श्रीलङ्कासँग ६० रनले पराजित भएको थियो । यस समूहबाट बङ्गलादेश र श्रीलङ्काले सेमिफाइनलमा स्थान बनाएका छन् । नेपाल समूहको तेस्रो र कुवेत पुछारमा छ । दुवै टोलीले अङ्कको खाता खोल्न सकेका छैनन ।