क्रिकेट | खेलकुद |

क्रिकेटको प्रशिक्षण नरोकिने, सन्दीप आउँदै

काठमाडौँ, पुस १६ गते । नेपाल क्रिकेट संघ (क्यान) ले केही खेलाडी अनुपस्थित भएपनि आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको तयारी नरोकिने जनाएको छ । क्यानले बन्द प्रशिक्षणमा बोलाएका ३० खेलाडीलाई शनिबारसम्म मुख्य प्रशिक्षक पुबुदु दसानायकेसँग रिर्पोटिङ (सम्पर्क) गर्न आग्रह गरेको थियो । तर क्यानले बोलाएकामध्ये १६ जना खेलाडीमात्र आएको आफुले जानकारी पाएको क्यानका ब्यवस्थापक विनोद दासले बताउनुभयो ।

‘सम्पर्कमा आएका खेलाडीसँग आइतबार प्रशिक्षक पुबुदुले छलफल सहित जिम्मेवारी तोक्ने काम भएको छ । क्याम्पमा सहभागि बन्न सन्दीप लामिछाने पनि छिट्टै आउँदैछन् । टोलीको प्रशिक्षण क्याम्प सुरु भईसकेको छ । केही खेलाडी नआउँदैमा प्रशिक्षण र तयारी रोकिने अवस्था छैन,’ दासले भन्नुभयो ।

क्यानले सोमबारदेखि कीर्तिपुर मैदानमा खेलाडीको तयारी सुरु हुने पनि जनाएको छ । क्याम्पमा रहने खेलाडीलाई पक्नाजोल स्थित रमादा इन्कोरमा राखिएको छ । क्यान खेलाडी छनोट समिति र प्रशिक्षक पुबुदुले बिहीबार टी–२० विश्वकप ग्लोबल छनोटको बन्द प्रशिक्षणका लागि बिहीबार प्रारम्भिक ३० जना खेलाडी छनोट गरेको थियो ।

छनोटमा क्यानले अनुशासनको कारबाही गरेको ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी पनि पर्नुभएको थियो । खेलाडी वर्गीकरणको विषयलाई लिएर क्यानको विरोधमा उत्रिएपछि क्यान बोर्ड बैठकले कप्तान मल्ल र उपकस्तान ऐरीलाई पदमुक्त गर्दै चार खेलाडीलाई सन् २०२२ को पहिलो ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरको थियो ।

क्यान बैठकले सन्दीप लामिछानेलाई कप्तानमा नियुक्त पनि गरेको थियो । चार खेलाडीले भने क्यानको कारबाहीमा पूर्नविचार गरिनुपर्ने माग गर्दै आएका थिए । सन्दीप अहिले अष्ट्रेलियामा बिग बास लिग खेलिरहनुभएको छ । पुस १५ गतेमात्र प्रशिक्षक पुबुदुले कप्तान बनाउने काम क्रिकेट बोर्डको भएकोले बोर्डको निर्णय आफुले परिवर्तन गर्न नसक्ने बताउनुभएको थियो ।

दोस्रो पटक नेपाली टोलीको प्रशिक्षक बन्नुभएको पुबुदुको प्रशिक्षणमा सोमबारदेखि नेपालले अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको तयारी गर्न लागेको हो । ग्लोबल छनोटको लागि नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ को छनोट खेल सन् २०२२ को फेब्रुअरी १५ देखि २५ तारिखसम्म ओमानमा हुनेछ ।

समूहमा नेपालसँगै ओमान, आयरल्यान्ड, यूएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा रहेका छन् । समूह ‘बी’ मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका रहेका छन् । समूह ‘बी’ को छनोट खेल जुलाई ८ देखि १८ तारिसम्म जिम्बावेमा हुनेछ । समूहको शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् । नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीहरु :


सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल र हरिशंकर शाह ।