एलपीएललाई डिस होमको साथ
काठमाडौँ, पुस २३ गते । धनगढीमा अगामी माघ २२ गते बाट आयोजना हुने विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) ६ लाई डिस मिडिया नेटवर्क लिमिटेडले प्रायोजन गरेको छ ।
प्रतियोगितामा सहप्रायोजक रहने गरी डिस मिडिया नेटवर्क लिमिटे का तर्फबाट शुक्रबार सेल्स अफिसर लक्ष्मीराज जोशी र आयोजकका तर्फबाट लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । गत सिजनबाट नै प्रतियोगितालाई प्रायोजन गर्दै आएको डिस होम नेटवर्क लिमिटेडले यसबर्ष पनि सहयोगलाई निरन्तरता दिएकोमा शाहीले बताउनुभयो ।
प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालयका टिमको सहभागिता रहने बताइएको छ । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ एभरेस्ट एकेडेमी अत्तरियाले पनि सहभागिता जनाउने छन् ।
लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताउनुभयो ।