क्रिकेट | खेलकुद |

एपिएफ र बामतीको विजयी सुरुवात

काठमाडौँ, पुस २६ गते । विभागीय टोली एपीएफ क्लब र बागमती प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत टियु मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा एपिएफले प्रदेश नम्बर २ लाई २४ रनले हरायो । मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको हो ।

टियु मैदानमा एक सय ६४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । प्रदेश २ का लागि हरिशंकर साहले ३६ रन बनाउनुभयो । मोहमद आदिल आलमले ३५, सुरज पटेलले १५, विवेक यादवले १३ र कुमार थापाले १० बनाउनुभयो । एपिएफका बलर कमलसिंह ऐरी, अभिनाश बोहरा र भुवन कार्कीले दुई दुई तथा शरद भेषावकर र किशोर महतोले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६३ रन नाएको थियो । एपिएफका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाउनुभयो । प्रदिप ऐरीले ६० र सन्दीप जोराले १७ रन बनाउनुभयो । प्रदेश २ का रितेश सिंहले सर्वाधिक चार विकेट लिनुभयो । विवेक यादवले एक विकेट झार्नुभयो ।

बागमतीको सहज जित

यसैगरी मुलपानीमा जितका लागि एक सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५.४ ओभरमा सबै विकेटको क्षतिमा ६५ रनमा समेटिएको थियो । लुम्बिनीका लागि कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ र बसिर अहमदले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सक्नुभएन ।

बागमतीका नन्दन यादवले तीन विकेट लिनुभयो । रामनरेश गिरी, तिलक भण्डारी र सुवास खत्रीले दुई दुई विकेट लिनुभयो । रिजन ढकालले एक विकेट झार्नुभएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो ।

बागमतीका लागि सुवास खुकुरेलले सर्वाधिक ५१ रन बनाउनुभयो । कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट हुनुभयो । लुम्बिनीका दुर्गेश गुप्ता र अनिल खरेलले दुई दुई विकेट लिनुभयो । सिद्धान्त शाही, विक्रम भुषाल र बसिर अहमदले एक एक विकेट लिनुभयो ।