एपिएफको लगातार दोस्रो जित
काठमाडौँ, पुस २७ गते । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत टियु मैदान कीर्तिपुरमा मंगलबार भउको खेलमा एपिएफले बागमती प्रदेशलाई सात विकेटले हरायो ।
बागमतीले दिएको एक सय २६ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १८.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । एपिएफका लागि लोकेश बमले ५० रनको अर्धसतकिय इनिङ्स खेल्नुभयो । प्रदिप ऐरीले अविजित ३६ रन बनाउनुभयो । बलिङमा बागमतीका प्रतिस जिसी, रामनरेश गिरी र रिजन ढकालले एक एक विकेट लिनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २५ रनब नाएको थियो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक २९ रन बनाउनुभयो । नन्दन यादवले २४, सुवास खकुरेलले २१ र आदिल खानले १९ रन बनाउनुभएको थियो ।
बलिङमा एपिएफका अविनास बोहराले चार विकेट लिनुभयो । कमल ऐरीले दुई तथा शरद भेषावकर र किशोर महतोले एक एक विकेट झार्नुभयो । जितसँगै चार अंक बनाएको एपिएफ समूहको शीर्षस्थानमा छ । पहिलो हार खेपेको बागमतीको दुई अंक छ । बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको थियो ।
प्रदेश २ को पहिलो जित
प्रदेश २ ले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको समूह ‘बी’ कै खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई २ विकेटले हरायो । पहिलो खेलमा प्रदेश २ एपिएफसँग २४ रनले पराजित भएको थियो ।
गण्डकीले दिएको एक सय १७ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले १८.१ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको थियो । प्रदेश २ का लागि कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रन बनाउनुभयो । सन्तोष कार्कीले २३ र हरिकृष्ण झाले १७ रन बनाउनुभयो । गण्डकीका कृष्ण पौडेलले तीन विकेट लिनुभयो । विशाल पौडेल र सुवास भण्डारीले दुई दुई विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १६ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाउनुभयो । सन्दीप क्षेत्रीले २७ जोड्नुभएको थियो । बलिङमा प्रदेश २ का आदिल आलमले दुइ तथा हरिशंकर साह, जितेन्द्र यादव र विवेक यादवले एक एक विकेट झार्नुभयो । जितसँगै प्रदेश २ ले दुई अंक बनाएको छ ।