सुदूरपश्चिमको सान्त्वना जित
काठमाडौँ, माघ २ गते । सुदूरपश्चिमले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ । प्रतियोगिताबाट बाहिरिएको सुदूरपश्चिमले आइतबार प्रदेश १ लाई सात विकेटले हरायो ।
सुदूरपश्चिमको जितले समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । हारसँगै सेमिफाइनल पुग्ने प्रदेश १ को सम्भावना पनि सकिएको छ । यस समूहबाट समूह विजेता बन्दै एपिएफ क्लबले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।
कीर्तिपुर स्थित टियु मैदानमा एक सय ५९ रनको विजय लक्ष्य पाएको सुदूरपश्चिमले १९.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । सुदूरपश्चिमका लागि राजु रिजालले ६८ रन बनाउनुभयो । कप्तान सन्तोष भट्टले ४८ र अर्जुन साउदले २६ रन बनाउनुभयो । बलिङमा प्रदेश १ का कमल खत्री, फिर्दोस अन्सारी, मुकुन्द यादवले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५८ रन बनाएको थियो । प्रदेश १ का मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाउनुभयो । सोनु अन्सारीले ३१ तथा मिनाश थापा र अङ्कित सुवेदी समान २३–२३ रन बनाउनुभयो । बलिङमा सुदूपश्चिमका हेमन्त धामी र नारायण जोशीले दुई दुई तथा कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले एक एक विकेट लिनुभयो ।