आइपीएलमा सन्दीपको मुल्य ४० लाख भारु
काठमाडौँ, माघ १८ गते । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को मेगा अक्सनमा आफ्नो मुल्य ४० लाख भारतीय रुपियाँ (भारु) तोक्नुभएको छ ।
मेगा अक्पनका लागि नेपालका १४ जना खेलाडीले नाम दर्ता गराएपनि मेगा अक्सनमा सन्दीपको मात्र नाम छनोट भएको छ । आइपीएलले मंगलबार सार्वजनिक गरेको सर्ट लिस्टमा नेपालबाट सन्दीपको मात्र नाम समावेश गरेको हो । यदि सन्दीपलाई कुनै टोलीले अनुबन्ध गरेमा उहाँले कम्तिमा ४० लाख भारु पाउनु हुनेछ ।
मेगा अक्सनमा विभिन्न देशबाट एक हजार दुई सय १५ जनाले नाम दर्ता गराएपनि पाँच सय ९० खेलाडी मात्र अटाएका छन् । सन्दीपले यसअघि सन् २०१८ र २०१९ मा दिल्ली डेयर डेभिल्सबाट खेल्नुभएको थियो । उहाँलाई २०२० र २०२१ म भने कुनै टोलीले अक्सन लगाएको थिएन । आइपीएलको अक्सन फेब्रुअरी १२ र १३ तारिख बैंगलोरमा हुनेछ । यस पटकको आइपीएलमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।