क्रिकेट | खेलकुद |

मेयर कपमा एपीएफको दोस्रो जित

काठमाडौँ, फाल्गुन ११ गते । विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा बुधबार भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले हरायो । पहिलो खेलमा पनि एपीएफले प्रदेश १ लाई ६ विकेटले नै हराएको थियो ।

सुदुरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफको जितमा रोमा थापाले अविजित २३ रनब नाउनुभयो । ममता चौधरीले अविजित १४, ज्योती पाण्डेले ११, इन्दु बर्माले १० र सरिता मगरले ९ रन बनाउनुभयो । बलिङमा सुदुरपश्चिमका लागि इश्वरी विष्टले दुई तथा रितु कनोजियाले एक विकेट लिनुभयो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ८९ रन बनाएको थियो । सुदुरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ र डोली भट्टले ११ रन बनाउनुभयो । बलिङमा एपीएफकी सोनु खड्काले सर्वाधिक तीन विकेट लिनुभयो । करुणा भण्डारी र सरिता मगरले दुई दुई तथा राजमती ऐरीले एक विकेट लिनुभयो । एपीएफले तेस्रो खेल शुक्रबार लुम्बिनी प्रदेशसँग खेल्नेछ ।