विश्वकप लिग–२ क्रिकेटको खेल तालिका सार्वजनिक
काठमाडौँ, फाल्गुन ११ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा हुने त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग पहिलो खेल खेल्ने भएको छ । बुधबार सार्वजनिक भएको तालिका अनुसार नेपालले मार्च १६ तारिख पीएनजीसँग पहिलो खेल खेल्नेछ ।
आयोजक यूएई, नेपाल र पीएनजी सहभागी लिगमा नेपालले दोस्रो खेल यूएईविरुद्ध मार्च १८, नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ र अन्तिम खेल नेपालले पीएनजीविरुद्ध मार्च २२ तारिख खेल्नेछ । लिग टुमा सात टोलीको सहभागी छन् । लिग–२ मा आठ खेलबाट आठ अङ्क बनाएको नेपाल छैटौँ स्थानमा छ ।
अहिलेसम्म शीर्ष स्थानमा रहेको ओमानले २३ खेलबाट ३० अङ्क बनाएको छ । १२ खेल खेलेको स्कटल्यान्ड १६ अङ्कसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको अमेरिकाले १६ खेलबाट १४ अङ्क बनाएको छ । १० खेल खेलेको यूएईको १२ अङ्क, नौ खेल खेलेको नामिबिया १० अङ्क छ । १२ खेल खेलेको पीएनजीले कुनै पनि जित निकाल्न सकेको छैन ।