एपीएफलाई महिला क्रिकेट उपाधि
काठमाडौँ, फाल्गुन १६ गते । ललितपुर मेयर कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिातको उपाधि सशस्त्र प्रहरी बलको (एपीएफ क्लब) ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हरायो ।
टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । एक सय १४ रनको विजय लक्ष्य एपीएफले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । यससँगै एपीएफले प्रतियोगिताको उपाधि रक्षा गरेको छ । अघिल्लो संस्करणमा पनि एपीएफले सुदूरपश्चिमलाई नै हराएर उपाधि जितेको थियो ।
सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३६ रन बनाउनुभयो । डली भट्टले ३६, कविता कुँवरले अविजित २४ र रेवती धामीले १० रन बनाउनुभयो । बलिङमा एपीएफकी सुस्मा श्रेष्ठले दुई विकेट लिनुभयो । एक सय १४ रनको विलय लक्ष्य पूरा गर्न एपीएफका लागि ज्योति पाण्डेले सर्वाधिक ४३ रन बनाउनुभयो । इन्दु बर्माले अविजित २९ र सिता रानामगरले १९ रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमका सम्झना खड्का र लक्ष्मी साउँदले एक एक विकेट लिनुभयो ।
उपाधिसँगै एपीएफले दुई लाख रुपियाँ पुरस्कार पायो । उपविजेता सुदूरपश्चिमले एक लाख रुपियाँमा चित्त बुझायो । एपीएफकी ज्योती पाण्डे ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुनुभयो । उहाँले २५ हजार रुपियाँ हात पार्नुभयो । फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ र ब्याटिङतर्फ पनि उत्कृष्ट घोषित ज्योतीले थपे १५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । उत्कृष्ट बलर घोषित इश्वरी विष्टलाई पनि १५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।