क्रिकेट | खेलकुद |

टी–२० वरीयतामा सन्दीप र कुशलको फड्को

काठमाडौँ, फाल्गुन १८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र युवा ओपनर कुशल भुर्तेलले राम्रो फड्को मार्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरको वलिङको वरीयतामा सन्दीपले सात स्थान र कुशलले ब्याटिङमा आठ स्थान सुधार गर्नुभएको छ ।

ब्याटिङतर्फ कुशल ३१औँ स्थानमा उक्लिनुभएको छ । यसअघि उहाँ ३९औँ स्थानमा हुनुहुन्थ्यो । ब्याटिङमा दीपेन्द्रसिंह ऐरी ५०औँ स्थानमा हुनुहुन्छ । बलिङमा सन्दीप ३६औँ स्थानमा उक्लिनु भएको छ । यसअघि सन्दीप ४३औँ स्थानमा हुनुहुन्थ्यो । नयाँ वरीयताको बलिङमा अभिनाश बोहरा ८२औँ स्थानमा उक्लिनुभएको छ ।

यसअघि उहाँ ८६औँ स्थानमा हुनुहुन्थ्यो । हालै ओमानमा भएको आईसीसी टी–२० विश्वकप ग्लेबल छनोटको प्रदर्शनका आधारमा नेपाली खेलाडीको वरीयता सुधार भएको हो । टी–२० वरीयतामा नेपाल १३औँ र एकदीवसीयमा १६औँ स्थानमा छ ।