अभ्यास खेलमा नेपाल विजयी
काठमाडौँ, फाल्गुन २३ गते । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित निकालेको छ । सोमबार भएको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंकाको पहिलो श्रेणी क्लब नेभीलाई एक सय ११ रनले हरायो ।
नेपालले दिएको दुई सय १५ रनको विजय लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो । श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रन बनाउनुभयो । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन, ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई दुई विकेट लिनुभयो । सागर ढकाल, कमलसिंह ऐरी र करण केसीले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय १४ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाउनुभयो । आशिफ शेखले ३६, विनोद भण्डारीले २२, करण केसीले १६, कमलसिंह ऐरीले १५, कुशल भुर्तेल, रोहित पौडेल र सागर ढकालले समान १३ तथा कप्तान सन्दीप लामिछाने र विक्रम सोबले ११–११ रन जोड्नुभयो ।
बलिङमा श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक चार तथा अवादतले तीन विकेट लिनुभयो । युनाइटेड अरब इमिरेट्स (यूएई) मा मार्च १६ देखि २२ सम्म आयोजना हुने आईसीसी विश्वकप लिग–२ को तयारीका लागि नेपालले श्रीलंकामा अभ्यास खेल खेलेको हो । नेपालले अझै श्रीलंकामा स्थानीय टोलीसँग तीनवटा अभ्यास खेल खेलेर यूएई जाने कार्यक्रम छ ।