पीएनजीको पहिलो जित
काठमाडौँ, चैत ५ गते । पपुवा न्युगिनी (पीएनजी) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पहिलो जित निकालेको छ । यूएईमा जारी प्रतियोगितामा शनिबार पीएनजीले घरेलु टोली यूएईमाथि ६ विकेटको जित हात पारेको छ । लिगको १५औँ खेलमा आएर पीएनजीले पहिलो जित निकालेको हो ।
एक सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पीएनजीले ३६.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । पीएनजीको जितमा कप्तान असाद भाला अविजित ६८ रन बनाउनुभयो । चाल्स अमिनी र भालाले ३६, ओपनर टोनी उरा र लेगा सियाका समान १०/१० रन बनाउनुभयो । बलिङमा यूएईका कासिफ दाउद, अहमद राजा र रोहन मुस्तफाले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएई निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रनमा समेटिएको थियो । यूएईकाअलराउन्डर रोहन मुस्तफाले सर्वाधिक ८८ रन बनाएपनि टोलीको हार टरेन । यूएईलाई सस्तैमा सकेट्न पीएनजीका एलाई नावोले चार विकेट लिनुभयो । चाद सोपरले तीन र राइली हेकुरेले दुई विकेट लिनुभयो ।
जारी लिगको पहिलो खेलमा पीएनजी यूएईसँग सात विकेट र दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो । पीएनजीलेअब मंगलबार नेपालसँग खेल्नेछ । नेपालले अर्को खेल सोमबार यूएईसँग खेल्नेछ । नेपाल दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो ।
अहिले लिग तालिकाको शीर्षस्थानमा रहेको ओमानले २७ खेलबाट ३६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको यूएईको १७ खेलबाट २० अंक, १२ खेलबाट १६ अंक बनाएको स्कटल्यान्डले १६ अंक, १६ खेलबाट १४ अंक बनाएको अमेरिका चौथो, १३ खेलबाट १२ अंक बनाएको नामिविया पाँचौँ, १० खेलबाट १० नै अंक बनाएको नेपाल छैटौँ र १५ खेलबाट दुई अंक बनाएको पीएनजी अन्तिममा छ । प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।