क्रिकेट | खेलकुद |

नेपाललाई ब्याटिङ सुधार्ने चुनौती

काठमाडौँ, चैत ६ गते । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले सोमबार पुनः घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्लो खेलमा खराव ब्यटिङका कारण नेपाल यूएईसँग एक सय ६९ रनको झिनो विजय लक्ष्य पछ्याएर पनि हार खेप्न बाध्य भएको थियो ।

नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो । सिरिजमा सुधार गर्न नेपाललाई यूएईविरुद्ध ब्याटिङमा आमूल सुधार गर्नुपर्ने चुनौती छ । नेपाली टोलीका प्रशिक्षक पुवुदु दसानायके र कप्तान सन्दीप लामिछानेले समेत नेपालको ब्याटिङमा सुधार गर्नु पर्ने बताउनुभएको छ ।

सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)माथि दुई विकेटको रोमाञ्चक जित निकालेको थियो । यूएई नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । एक खेल गुमाई सकेको नेपालका लागि दोस्रो खेलमा बदला लिने अवसर पनि छ । नेपाल र यूएईबीच अहिलेसम्म पाँच वटा एक दिवसीय खेल भएका छन् । जसमा यूएईले तीन र नेपालले दुई खेल जितेको छ । नेपालले यस लिगको अन्तिमम खेल मंगलबार पीएनजीसँग खेल्नेछ ।

लिग–२ मा अहिले तालिकाको शीर्षस्थानमा रहेको ओमानले २७ खेलबाट ३६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको यूएईको १७ खेलबाट २० अंक छ । १२ खेलबाट १६ अंक बनाएको स्कटल्यान्डको १६ अंक सहित तेस्रो, १६ खेलबाट १४ अंक बनाएको अमेरिका चौथो, १३ खेलबाट १२ अंक बनाएको नामिविया पाँचौँ, १० खेलबाट १० नै अंक बनाएको नेपाल छैटौँ र १५ खेलबाट दुई अंक बनाएको पीएनजी अन्तिममा छ । प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।