यू–१९ महिला राष्ट्रिय क्रिकेट : कर्णालीको विजयी सुरुवात
कैलाली, चैत ६ गते । कैलालीको धनगढीमा आइतबारदेखि सुरु भएको मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ३४ रनले हरायो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धातिर २० ओभरमा पाँच विकेट गुमाएर ९३ रन बनाएको थियो । ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिम १३.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रनमा समेटिएको थियो ।
सुदूरपश्चिमका लागि पवित्रा धामीले अविजित १० रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन । सुदूरपश्चिमलाई सस्तैमा समेट्न कर्णाली प्रदेशकी एन्जीला थापाले तीन विकेट लिनुभयो । श्रीमी थारु, दीक्षा पुरी र तिर्सना विश्वकर्माले दुई दुई तथा विना थापाले एक विकेट लिनुभयो ।
यसअघि कर्णाली प्रदेशका लागि किरण कुँवर र तिर्सना विश्वकर्माले ६४ रनको सुरुवाती साझेदारी गर्दै टिमलाई राम्रो स्कोरतर्फ लग्नुभयो थियो । किरणले व्यक्तिगत २५ र तिर्सनाले १२ रन बनाउनुभयो । बलिङतर्फ सुदूरपश्चिमका लागि सावित्री धामीले तीन र मनीषा चौधरीले एक विकेट लिनुभयो ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख रुपियाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा सात प्रदेशको सहभागिता रहेको छ ।