नेपालको ध्यान सिरिज जित्नेमा : सन्दीप
काठमाडौँ, चैत १६ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपालको एउटै ध्यान त्रिदेशीय टी–२० सिरजि जित्ने रहेको बताउनुभएको छ । कीर्तिपुर मैदानमा लगातार दोस्रो जित निकालेपछि कप्तान सन्दीपले सबैको चाहना सबै खेल जितेर सिरिज कब्जा गर्नु रहेको बताउनुभयो ।
‘बास्तवमा सबैको चाहना सिरिज जित्नु नै हो । तर लगातार दुई जितले हामीलाई हौसला मिलेको छ । हामी फाइनल नजिक छौँ । आज मलेसियालाई कम स्कोरमा समेट्दा सजिलै जित सम्भव भयो । बाँकी खेलमा पनि राम्रो गर्नेछौँ,’ सन्दीपले भन्नुभयो । बुधबार नेपालले मलेसियालाई ६ विकेटले हराएपछि नेपाल तालिकाको शीर्षस्थानमा छ ।
नेपालले दुई खेलबाट चार अंक बनाएको छ । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको थियो । दोस्रो स्थानमा रहेको मलेसियाको दुई अंक छ । पीएनजीले खाता खोल्न सकेको छैन । मलेसियाविरुद्धको जितमा नेपालका आशिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँ ‘प्लेयर अफ दि म्याच’ पनि हुनुभयो ।
यस्तै यसै खेलबाट नेपालका दीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान पनि बनाउनुभएको छ । २१ रन बनाउनुभएका ऐरीले नेपालका लागि सर्वाधिक आठ सय तीन रन बनाउनुभएको छ । उहाँले ३६ खेलमा उक्त रन बनाउनु भएको हो । यसअघि पूर्व कप्तान पारस खड्काको नाममा ३३ खेलमा साथ सय ९९ रनको कीर्तिमान थियो । सिरिज अन्तर्गत नेपालले बिहीबार पीएनजीसँग खेल्नेछ ।