अर्थ | अन्तर्राष्ट्रिय |

अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट

क्यानबेरा, भदौ १७ गते । कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको छ ।
सन् १९५९ यता पहिलोपटक अप्रिलदेखि जुन महिनाको अवधिमा अस्ट्रेलियाको अर्थतन्त्र ७ प्रतिशत खुम्चिएको छ । यसअघि सन् १९७४ मा २ प्रतिशतले अर्थतन्त्र न्यून भएको थियो । अर्थशास्त्रीहरुले यसअघि सन् १९३० को महामन्दीको अवस्थामा अर्थतन्त्र ९.५ प्रतिशतले खुम्चिएको बताएका छन् । गत मार्च महिनामा पनि ०.३ प्रतिशतले अर्थतन्त्र खुम्चिएको थियो । प्राविधिक रुपमा लगातार दुई महिना अर्थतन्त्र खुम्चिए मन्दी आएको मानिन्छ ।
अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परेको बताउनुभएको छ । उहाँले २८ वर्षदेखि लगातार हुँदै आएको आर्थिक वृद्धि यसपटक कोरोनाभाइरसका कारण पहिलोपटक रोकिएको छ भन्नुभयो ।
प्रधानमन्त्री स्कट मरिसनले पनि संसदमा सम्बोधन गर्दै अस्ट्रेलियाका लागि यो निकै संकटपूर्ण अवस्था आइलागेको बताउनुभयो । आर्थिक सहयोग तथा विकास सङ्गठनले जुन महिनामा सङ्गठनमा आबद्ध मुलुकहरूको अर्थतन्त्र अप्रिल–जुन महिनाको अवधिमा ९.८ प्रतिशतको हाराहारीमा खुम्चिने पूर्वानुमान गरेको थियो । सङ्गठनले बेलायतको अर्थतन्त्र २० प्रतिशत, फ्रान्सको १४ प्रतिशत तथा संयुक्तराज्य अमेरिकाको ९.१ प्रतिशतले गिरावट आउने जनाएको छ ।