अर्थ |

कर्णालीको चिनो उदयपुरमा

भोटराज राई

उदयपुर, भदौ २९ गते । उदयपुरमा पाखा बारीमा कर्णालीको चिनो फलेको छ । कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगु र रोल्पाजस्ता विकट ठाउँको रैथाने अन्नबाली चिनो धान उदयपुरको पहाडी भेगमा राम्रो फलेको हो । परीक्षणका लागि रोपिएकामा उत्पादन सफल भएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ उदयपुरका तर्फबाट अध्यक्ष थापाको प्रयास तथा पहलमा कृषि अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिक कृष्ण घिमिरेको सल्लाह अनुरूप उदयपुरको रौतामाईका विभिन्न स्थानलगायत ठाडा खोलामा यसको प्रारम्भिक खेती गरिएको थियो ।
रौतामाई गाउँपालिका–१ को ठाडो खोलामा स्थानीय कृषक युवराज गलान तामाङ (राजु) र हितमान तामाङले आफ्नै पाखोबारीमा यसको खेती परीक्षण खेती गरेकामा राम्रो उत्पादन भएको हो । जेठमा रोपेको धान भदौमा फलेको अध्यक्ष थापाले बताउनुभयो ।
ठाडा खोला गाउँ एक हजार ८७३ मिटर उचाइमा पर्दछ । परीक्षणका क्रममा यो वर्ष सफल उत्पादन भएको चिनो धान जिल्लाको अन्य विभिन्न पहाडी भेगमा पनि उत्पादन हुनसक्ने देखिएको छ । कृषकले उत्पादनबाट आफूहरू उत्साहित बनेको बताएका छन् । उनीहरूले फेरि पनि खेती लगाउने बताएका छन् । यसको चामल विशेष गरी खीर, रोटी खान प्रयोग गरिन्छ । मधुमेह र रक्तचापजस्ता बिरामीका लागि अति उपयुक्त खाद्यान्नका रूपमा पनि मानिन्छ । यस धानलाई गाउँघरको भाषामा कोदे धान पनि भन्ने गरिएको छ ।
चिनो धानसँगै कागुनो खेतीको पनि सफल परीक्षण भएको छ । चिनो र कागुनोको सफल उत्पादन गर्न सकिने प्रमाणित भएको अध्यक्ष थापाले दाबी गर्नुभयो । अधिकांश पहाडी भूभाग रहेको उदयपुरमा यसको खेतीतर्फ किसानलाई आकर्षित गर्न सकिने अध्यक्ष थापाले बताउनुभयो ।