अर्थ | फिचर |

विक्री अवस्थामा राखिएका म्याद गुज्रिएका बियर बरामद


धीरेन्द्रप्रसाद साह
राजविराज, असोज २२ गते । सप्तरीको राजविराज नगरको मुख्य बजारबाटै बिक्रीको लागि तयारी अवस्थामा राखेको म्याद गुज्रिएका तीन दर्जन बियर बोतल बरामद गरेको छ ।
संयुक्त बजार अनुगमन टोलीले बिहीबार राजविराज नगरको जनआन्दोलन चोकस्थित माँ दुर्गे ट्रेडर्सबाट तीन दर्जन म्याद गुज्रिएको बियर बरामद गरी पसल अगाडि नै नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिनुभयो ।
अनुगमन टोलीले म्याद सकिएको माँ दुर्गे ट्रेडर्सबाट टुबोर्ग कम्पनीको बियर सात बोतल, किग्सफिसर कम्पनीका १३ बोतल, टुबोर्ग कम्पनीको क्यान आठ वटा बरामद गरेर नष्ट गरेको छ । ट्रेडर्समा बिक्रीको लागि फ्रिजमा राखिएको अवस्थामा बियर बरामद गरेको अनुगमन टोलीका सदस्य उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले उक्त सामान बरामद गरेको हो । टोलीले कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यबस्तु खरिदबिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले राजविराज नगरका पसलहरुको अनुगमन तीब्र पारेको सप्रजिअ घिमिरेले बताउनुभयो ।
त्यस्तै नगरभित्रको पूजा किराना स्टोर्समा कसमिरी मिर्च २१ पोका, मसला १० पोका, नूर फ्रुट एण्ड जेनरल स्टोरमा १० पोका गुहुँको पिठो म्याद गुज्रिएको अवस्थामा बरामद गरी जलाएर नष्ट गरेको बताइएको छ ।
बिहीबारै नागमणी किराना पसल, लाल ट्रेडर्स, इब्राहम स्टोर्स, हक जनरल स्टोर्स, कोकाइ साह गोपाल साह ट्रेडर्स लगायत एक दर्जन पसलहरुमा अनुगमन गरेको छ । अधिकाँश पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराेना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभलगायतमा ध्यान नदिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सिंहले जानकारी दिनुभयो ।
बजार अनुगमनका क्रममा मूल्यसूची र साइनबोर्ड नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको सिंहले जानकारी दिनुभयो । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँको कथन थियो ।
सप्तरी उद्योग बाणिज्य संघ, सञ्चारकर्मी, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालयको प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीलाई देखेपछि धेरै पसलहरु बन्द गरी भागेको पाइएको छ ।
म्याद गुज्रिएको बियरलाई नष्ट गर्दै संयुक्त अनुगमन टोली । तस्विर ः धीरेन्द्रप्रसाद साह÷राजविराज