अर्थ | फिचर |

परिसङ्घद्वारा करदाता सम्मानित

 

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल सरकार, आन्तरिक राजस्व विभागले सम्मानित गरेका करदातामध्ये नेपाल उद्योग परिसङ्घमा आबद्ध करदातालाई परिसङ्घले बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । परिसङ्घमा आयोजित कार्यक्रममा अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित हुनुभएका परिसङ्घ गभर्निङ काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहलाई सम्मान गर्नुभयो ।
परिसङ्घले बैङ्क वित्तीय संस्थातर्फका उत्कृष्ट करदाता नबिल बैङ्क लिमिटेडका उपाध्यक्ष एवं परिसङ्घका उपाध्यक्ष निर्वाण चौधरी, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका निर्देशक तथा परिसङ्घको राष्ट्रिय परिषद् सदस्य सुरेशलाल श्रेष्ठ, मूल्य अभिवृद्धि करतर्फ सम्मानित हुने घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालिका निर्देशक तथा परिसङ्घका राष्ट्रिय परिषद् सदस्य आदित्य सङ्घाई र विप्रेषणको कारोबार गरी सम्मानित भएको आईएमई लिमिटेडका निर्देशक तथा परिसङ्घको राष्ट्रिय परिषद् सदस्य हेमराज ढकाललाई पनि परिसङ्घले बधाई ज्ञापन गर्दै सम्मान पत्र प्रदान गरेको छ । सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि र निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको डाबर नेपाल प्रालिलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।