अर्थ | फिचर |

बिनाकारण बढाइयो तेलको मूल्य

 

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २४ गते । कोरोनाका कारण काम र दाम गुमाएका उपभोक्तालाई महँगीको मारले झन् थिचेकोे छ । दैनिक उपभोग्य विभिन्न सामग्रीको मूल्य बढ्ने क्रममा पछिल्लो समय खानेतेलको मूल्य पनि अप्रत्याशित रूपमा बढेको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला एक÷डेढ साताको बीचमा खानेतेल प्रतिलिटर १० देखि ३० रुपियाँसम्म बढेको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण खानेतेलको मूल्य बढेकामा आफू अचम्मित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले मूल्य बढ्नुपर्ने कुनै कारण छैन न त बजारमा कुनै समस्या छ । पर्याप्त सामान आपूर्ति भइरहेको अवस्थामा पनि थोकमा नै मूल्य बढाइएको छ । मूल्य बढ्नुको कारणको खोजी बजार अनुगमन गर्ने सरकारी निकायले खोजेको पनि छैन । ”
उहाँले थोक व्यापारीले बिनाकारण मूल्य बढाएकाले आफूहरू पनि मारमा परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “एकातिर सामान खरिद गर्दा थोक व्यापारीबाट बढेको बिलबिजक पाएका छैनाँै । पुरानै मूल्य प्रिन्ट भएको सामान लिनुपरेको छ, अर्कोतिर उपभोक्ता प्रिन्ट हेरेर सामानमा बार्गेनिङ गर्छन् । ”
अध्यक्ष श्रेष्ठका अनुसार अहिले एक कार्टोन खानेतेल खरिद गर्दा एक सयदेखि १४० रुपियाँसम्म बढेको छ । त्यो खुद्रा व्यापारीले तिर्नुपर्छ । थोकमा तिरेको मूल्यअनुसार बिल नपाएको विषयमा सरकारलाई पटकपटक भन्दा पनि सुनुवाइ भएको हुँदैन । सङ्घका अनुसार दुर्गड ब्रान्डका धारा हेल्थ सनफ्लावर, अमृत सोयाविन तेल, धारा तोरीको तेलको प्रतिलिटरमा २० देखि ३० रुपियाँसम्म मूल्य बढेको छ । केही समयअघि प्रतिलिटर एमआरपी २०५ रुपियाँ रहेको धारा हेल्थ सनफ्लावर तेल अहिले बढेर २३५ रुपियाँ पुगेको छ । यस्तै सोयाविन र तोरीको तेलमा पनि यसैगरी बढेको सङ्घले जनाएको छ । दुर्गड बढेसँगै हाल सबै ब्रान्डले तेलको भाउ बढाइसकेका छन् ।
नेपाल खाद्य किराना थोक व्यापार सङ्घले भने उद्योगमै सामान बढेकाले आफूहरूले पनि बढाउनुपरेको बताउँदै आएको छ । सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले थोक व्यापारीले बढेको मूल्यअनुसार बिलबिजक दिनलाई आफूहरूले पनि उद्योगीबाट पाउन नसकेको गुनासो गर्नुभयो ।
नेपाल चामल तेल दाल उद्योग सङ्घले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । सङ्घका अध्यक्ष सुबोध गुप्ताले नेपालमा तेलको ९२ प्रतिशत र दालको ८५ प्रतिशत कच्चा पदार्थ विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रिय बजारमा सानो असर पर्नेबित्तिकै मूल्य बढाउनुपरेको दाबी गर्नुभयो ।
विभागका बजार अनुगमन निर्देशक सागर मिश्रले विभागले गत सातादेखि खानेतेलमा केन्द्रित भएर दैनिक आठ÷दसवटा पसलको अनुगमन गर्दा मूल्य महँगो भएको पाइएको जानकारी दिनुभयो । उहाँले तेल उद्योगमै महँगो भएको हो या यो थोक वा खुद्रा पसलमा महँगो भएको हो भन्नेबारेमा सूक्ष्म रूपमा अध्ययन भइरहेको पनि जानकारी दिनुभयो । उहाँले तेलको भाउ कतिसम्म महँगो भइरहेको छ त्यसको वास्तविकता बुझ्ने काम विभागले गरिरहेको दाबी गर्नुभयो ।