शहरको सुख छाडेर जंगलमा व्यवसायिक भेडापालन
ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ १८ गते । धौलागिरि गाउँपालिका ५ मल्कबाङका हिमबहादुर छन्त्याललाई शहरबजारको सुखसयल र आनन्दको जीवन बिताउन नपुग्ने छैन । ४५ वर्षीय छन्त्याल सँग २२ वर्ष मलेशियामा गरेको रोजगारीको आम्दानी र पोखरामा सुविधा सम्पन्न घर छ । पोखरा तिरै केही व्यवसाय गरेर वस्न सक्ने उहाँसँग प्राविधिक ज्ञान पनि नभएको होइन । तर यो सबै छाडेर छन्त्याल तीनवर्षदेखि जंगलमा व्यवसायिक भेडापालन गर्नुभएको छ ।
छन्त्यालले मल्कबाङको लेकाली जङ्गलमा व्यवसायिक रुपमा भेडापालन गरेको देख्दा गाउँले अचम्म मान्छन् । अलिकति पैसा कमाएपछि सहरबजार झर्ने प्रचलन गाउँमा छ । तर छन्त्याल भने पैसा कमाएपछि सहरबजारबाट गाउँ फर्किनुभयो । उहाँ गाउँ मात्र फर्किनु भएन जंगलमा व्यवसायिक रुपमा भेडापाल्न थालेपछि गाउँलेहरु समेत दङ्ग छन् ।
तीन वर्ष अघि ३२ लाख लगानी गरेर व्यवसायिक भेडापालन थाल्नुभएका छन्त्याल सँग अहिले ४८० भन्दा बढी भेडा छन् । तीनवर्षको अवधिमा छन्त्यालले भेडापालनका लागि करिब ५६ लाख रुपियाँ लगानी गरिसक्नुभएको छ ।
यो अवधिमा ८ सय वटा भेडा विक्री गरेर ६० लाख भन्दा बढी आम्दानी गरेको उहाँले बताउनुभयो । भेडा हेरालोलाई पारिश्रमिक,औषधि उपचार र खानेवस्ने गरी वार्षिक रुपमा ६ लाख रुपियाँ खर्च हुने उहाँले सुनाउनुभयो ।
यस वर्षको दशैंमा मात्र छन्त्यालले १४ लाख बराबरका भेडा विक्री गर्नुभयो । सहर बजारमा बसेर खान पुग्ने सम्पत्ति मसँग छ छन्त्यालले भन्नुभयो,‘बाउबाजेले गरेको पेशालाई निरन्तरता दिन गाउँ फर्किएको हुँ ।’ सहरबजारमा नबसेर जंगलमा बसेको भनेर आफन्तहरुले गाली गर्ने गर्दन् छन्त्यालले भन्नुभयो ‘मलाई सहर बजारमा भन्दा यता आनन्द महशुष हुन्छ ।’ गाउँघरमा केही गरौं भन्ने सोचका साथ मलेशियाको रोजगारी र सहरबजारको बसाई छाडेर भेडापालनमा लागेको उहाँले सुनाउनुभयो । आफ्नो पुर्खाले जप्वन विताएको जंगल र भिर पाखाहरुको परम्परागत भेडापालनलाई निरन्तरता दिएर युवा पुस्तालाई सन्देश दिन मैले भेडापालन व्यवसाय रोजेको हुँ छन्त्यालले भन्नुभयो ।
भेडापाल्नका लागि लेकाली जङ्गल आवश्यक पर्दछ । प्रयाःजसो जंगलमै बास बस्नुपर्दछ । चिसो मौसम र झरीबादल भन्न पाइदैन । धौलागिरि हिमालको आधारशिविर सम्म भेडा पु¥याउनुपर्दछ जुन चुनौतीपूर्ण छ । मल्कबाङ गाउँदेखि पाँचघण्टाको यात्रा पछि पुग्न सकिने पुतली डाँडामा यतिखेर छन्त्यालको भेडीगोठ छ । चिसो मौसममा बेसी तिर र गर्मीमा लेकतिर भेडा लैजानु पर्दछ ।
वर्षको तीनपटक सम्म भेडा व्याउने गर्दछ । एकवर्षमा करिब ३०० जति भेडा उत्पादन हुने छन्त्यालले बताउनुभयो । छन्त्यालको गोठमा यतिखेर माउ बाख्रा करिब ३००,पाठापाठी ६० र खसी एकसय वटा जति छन् । वर्षको तीनपटकसम्म भेडा ब्याउछ । ६ महिना देखि एकवर्षको अवधिमा खसी विक्रीका लागि योग्य हुने छन्त्यालले बताउनुभयो ।
भेडा हेर्ने हेरालो पाए अझै एकसय जति भेडा थप्ने योजना छन्त्यालले बनाउनुभएको छ । चितुवा, स्याल लगायत जंगली जनावरबाट भेडालाई बचाउन छन्त्यालको गोठमा चार वटा भोटे कुकुर समेत छन् ।
विहान उठेपछि भेडाबाख्राको संख्या बुझ्ने, दूध दुहुने, खाना पकाएर खाने र चरण क्षेत्रमा भेडाबाख्रा लैजाने छन्त्यालको नियमित दैनिकी हो । भेडा हेर्नका लागि छन्त्यालले दुइजनालाई रोजगारी समेत दिनुभएको छ । लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराईसकेपछि पुन ः गोठमै फर्कने छन्त्यालको दैनिक छ । न फोन, न इन्टरनेट नत रेडियोको नै पहुँच छ । दुर्गम जंगल र पहाडको टुप्पोमा भेडीगोठ राख्नु चुनौती भएप नि हिमबहादुरको हिम्मतलाई सलाम गर्नुपर्ने स्थानीयवासी अमर छन्त्यालले बताउनुभयो ।
बजारको सुखसयललाई छाडेर जंगलको बास बसेर भेडापालन गर्नुभएका उहाँले अहिलेका युवापंक्तीलाई गतिलो सन्देश प्रवाह गरेको उहाँको भनाई छ । ‘बर्षात, हिमपात, केहि भन्न पाइदैन, गोठालो दैनिकी चलिरहेकै छ, कठिन त अबश्य छ, तर यहाँको प्राकृतिक भू–बनोट, सुन्दर प्रकृति र भेडाबाख्रासंगको दैनिकीले सबै दुःख भुलाइदिने रहेछ’ भेडापालक किसान छन्त्यालले अनुभव सुनाउनुभयो । धवलागिरिको मल्कबाङ, मलम्पार, खिबाङ, मराङ र रघुगंगाको पात्लेखर्क, दुवाडी, रायखोर, पाखापानी, चिमखोला लगायतका व्यक्तिहरुको च्यामली चौर, आधार शिविर, रुरु, चौराबन, नयाँवन, रिखार, ताङ्गे, भाङ्गे फाँट क्षेत्रमा भेडीगोठहरु छन् ।
उत्पादन भएका भेडाहरु विक्रीका लागि समस्या छैन । व्यापारीहरु गोठमै लिन आउँछन् छन्त्यालले भन्नुभयो । चाढवाडका समयमा ठुलो संख्यामा भेडाबाख्रा विक्री हुने भएपनि अन्य सिजनमा समेत व्यापारीहरु गोठमै आउने भएकाले उत्पादन भएका भेडाबाख्राको बजारीकरणमा समस्या नरहेको छन्त्यालको भनाई छ । वार्षिक रुपमा करिब २० देखि ३० लाख सम्मका भेडा र खसी बिक्री हुने गरेको उहाँले बताउनुभयो ।