अर्थ |

हिमपातले अवरूद्ध हवाई सेवा सुचारू

हुम्ला समाचारदाता

हुम्ला, माघ २५ गते । हिमपातले अवरुद्ध भएको हिमाली जिल्ला हुम्लाको हवाई सेवा शनिबारदेखि सुचारु भएको छ । शुक्रबार बिहानैबाट हिमपात हँुदा सुर्खेत र नेपालगञ्जबाट हुने हवाई सेवा बन्द भएको थियो । शनिबार मौसममा सुधार आई विमानस्थलमा जमेको हिउँ पन्छाएपछि उडान सुचारु भएको सीता एयरका सिमकोट स्टेसनका इन्चार्ज छेपेल लामाले बताउनुभयो । विमानस्थलको हिउँ पन्छाएपछि शनिबार नेपालगञ्जबाट एकैसाथ चारवटा उडान भएका छन् । उडानले यात्रु र कार्गाेको सामान ओसारेको छ । सिमकोटबाट पनि नेपालगञ्ज र सुर्खेतका लागि यात्रुको उडान भरिएको थियो ।
तारा, सीता र समिट एयरले चारवटा उडान गरेका थिए । कालोपत्रे भएको कारण विमानस्थलमा जमेको हिउँ पन्छाउन छिटो भएको थियो । हवाई यातायात सुचारु भए पनि सडकमा हिउँ जमेको कारण आन्तरिक रूपमा सञ्चालन हुँदै आएको यातायात भने सुचारु भएको छैन ।
उता डोल्पा समाचारदाताका अनुसार हिमपातका कारण दुई दिनदेखि अवरुद्ध हवाई उडान शनिबार खुलेको छ । यहाँको जुफाल विमानस्थलमा थुप्रिएको हिउँ पन्छ्याएपछि शनिबार तीनवटा उडान भएको छ । धावन मार्गमा रहेको हिउँ बिलाएको र केही पन्छ्याएपछि हवाई उडान सुचारु भएको समिट एयर जुफालका स्टेसन म्यानेजर पूर्णजङ्ग शाहीले बताउनुभयो । हवाई उडान सुचारु भएपछि यात्रु आआफ्नो गन्तव्यमा पुगेको हवाई सेवा प्रदायक एयरलाइन्सले बताएका छन् । अवरुद्ध विमानस्थलको धावन मार्ग खुलेपछि शनिबार विभिन्न एयरलाइन्सका जहाजले तीनवटा उडान भरेका छन् ।