अर्थ |

तयार हुँदै प्रशासनिक भवन

केशवराज पौडेल

पाँचखाल (काभ्रे), चैत १६ गते । पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज)को मुख्य प्रशासनिक भवनको पहिलो चरणको कार्य अन्तिम चरणमा पुगेको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले २०६८ सालमा सरकारी जमिन वन क्षेत्र प्राप्त गरे पनि रोकिएको प्रक्रिया आर्थिक वर्ष २०७६/७७ मा मुख्य प्रशासनिक भवनको काम सुरु भएको हो । नयाँ वर्ष २०७८ वैशाखमा सम्पन्न गर्ने गरी ठेक्का भएको सो भवनको कार्य कोरोनाका कारण केही समय लम्बिएको सेजका योजना शाखा प्रमुख माधवेन्द्र चौधरीले बताउनुभयो ।
वि.सं. २०६८ साल साउन २० गते पाँचखालमा सेज स्थापना गर्न जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकले वन मन्त्रालयको सिफारिसमा एक हजार रोपनी जग्गा उपलब्ध गराएपछि सेजको कार्यक्रम अगाडि बढेको थियो । प्राधिकरणले पाँचखाल सेजको निर्माणका लागि दुई अर्ब ९५ करोड २७ लाख १७ हजार रुपियाँको अनुमानित लागत तयार गरेको थियो ।
निर्माण सम्पन्न भइसकेका भैरहवा सेज, निर्माणाधीन सिमरा सेजभन्दा फरक संरचना सेज परिसरमा मनोरञ्जन केन्द्र र स्विमिङ पुलसमेत पाँचखालमा बन्ने गुरुयोजनामा व्यवस्था भएकाले भवनमा ४० करोड रुपियाँभन्दा धेरै लागत अनुमान गरिएको छ । २०६८ सालमै प्रक्रिया सुरु भएको पाँचखाल सेजका लागि रकम छुट्टिने अनि विभिन्न समस्याले प्रत्येक वर्ष
‘फ्रिज’ हुँदै आएको थियो । यसबाट स्थानीय बासिन्दा निराश बनेका थिए ।
मुख्य प्रशासनिक भवनको संरचनाका लागि ४० करोडभन्दा धेरै रकम आवश्यक पर्ने लागत भएअनुसार क्रमिक रूपमा भवन बनाउने योजनाअनुसार आर्थिक वर्ष २०७४÷७५ बाट भवनको प्रक्रिया अगाडि बढेको चौधरीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷७७ मा भवनका लागि १२ करोड ५८ लाख विनियोजन गरेर काम भइरहेको चौधरीले बताउनुभयो ।
नयाँ वर्षको वैशाखसम्म पहिलो चरणको काम सम्पन्न हुनुपर्नेमा कोरोनाका कारण केही काम रोकिएको अहिले अगाडि बढिरहेको छ । उहाँले भन्नुभयो, यही आर्थिक वर्षमा डिपबोरिङ गर्नका लागि ३५ लाख रुपियाँको बोलपत्र आह्वान भएर प्रक्रिया सुरु भइसकेको छ ।
फेरि वातावरणीय मूल्याङ्कन
एक हजार रोपनीभन्दा धेरै जग्गामा फैलिएको सेजमा रहेको लाखौँ रुख कटान गर्नका लागि चार वर्ष अघि नै गरिएको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन र अहिलेको अवस्थामा निकै अन्तर परेकाले पुनः वातावरण प्रभाव मूल्याङ्कन गरेर २०७८ सालमै रुख कटानको योजना रहेको चौधरीले जानकारी दिनुभयो । त्यसबेलाको रुखको आकार र अहिले धेरै परिवर्तन भएकाले पुनः वातावरणीय प्रभाव मूल्याङ्कन गरेर काम अगाडि बढाउने, उहाँले स्पष्ट पार्नुभयो ।
चार वर्षसम्म रुख कटान गर्न नसक्दा त्यसको लागत बढ्ने अनुमान गरिएको छ ।
कानुनी तथा प्रक्रियागत अवरोधका कारण तत्कालीन अवस्थामा नियमित काम हुन नसकेको पाँचखाल नगरपालिका–७ का वडाध्यक्ष पुष्कर ढकालले बताउनुहुन्छ । उहाँका अनुसार हाल पाँँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वनको एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माणको कार्य सुरु भएको हो । प्रमुख प्रशासनिक भवन बन्न थालेसँगै निर्माणको काम तीव्र गतिमा अगाडि बढ्ने आशा थपिएको ढकालले बताउनुभयो ।
यस आर्थिक वर्षमा रुख कटान गरेर ल्यान्डपुलिङको कामका लागि पुनः वातावरण प्रभाव मूल्याङ्कन गरेर काम गर्ने जानकारी पाएको उहाँले बताउनुभयो ।
सेजको प्रशासनिक भवनसम्म पुग्ने बाटो पक्की बनाउन बागमती प्रदेश सरकारले सहयोग गरेको छ भने पाँचखाल नगरपालिकाले समेत वैकल्पिक सडकलाई कालोपत्रे र ढलान गर्ने काम गरेको नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँले आफ्नो नगरपालिकाकै ठूलो र गौरवको आयोजना भएकाले यसलाई समयमै सम्पन्न गराउन सबै प्रयास गरिरहेको बताउनुभयो ।
सेजका लागि छुट्याइएको बजेट काम नै सुरु नभएर फर्किएपछि निराश बनेका स्थानीयवासी समेत २०७४ सालबाट नियमित बजेटमार्फत काम सुरु भएसँगै आशा जगाएको स्थानीय कञ्चन अधिकारीले बताउनुहुन्छ ।
विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगले निर्यातजन्य उत्पादन गर्ने र उत्पादित वस्तुमध्ये ७५ प्रतिशत बाहिरी मुलुकमा र बाँकी स्वदेशी बजारमा लैजाने योजना अगाडि सारेको छ । विशेष आर्थिक क्षेत्र विकास समितिले भने विगतदेखि नै चिनियाँ कम्पनीले पाँचखाल सेजमा वस्तु उत्पादन गरी चीनमै निर्यात गर्ने दाबी गर्दै आएको छ ।