अर्थ |

दोस्रो लहरसँगै नेपाली श्रमिकको चिन्ता

सीता शर्मा

काठमाडौँ, चैत १७ गते । कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्न थालेपछि विश्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकको बारेमा पुनः चिन्ता बढेको छ । नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक मानिएका मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन र दक्षिण कोरियाजस्ता देशमा दोस्रो लहर फैलिन थालेपछि त्रास पनि बढ्न थालेको छ ।
कोरोना सङ्क्रमणकै कारण गत वर्ष आठ÷नौ महिनासम्म पूरै प्रभावित भएको वैदेशिक श्रम बजार हालै मात्र खुलेर गति लिन नपाउँदै पुनः कोरोनाको सङ्क्रमणले वैदेशिक रोजगारीमा गएका परिवारमा समेत त्रास बढेको हो । कोरोना प्रभावित देशमा रहेका नेपाली दूतावासले सार्वजनिक सूचना निकालेर सर्तक र सुरक्षित रहन नेपालीलाई आग्रह गरिसकेका छन् ।
गन्तव्य मुलुकले कोरोनाविरुद्धको खोप कार्यक्रम चलाइरहेको भए पनि नयाँ सङ्क्रमण पुनः बढ्न थालेको छ । सन् २०२० मा कोरोनाबाट आक्रान्त भएका ती मुलुकमा सङ्क्रमण हुँदै गएसँगै श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या क्रमशः बढ्न थालेको थियो ।
हाल दक्षिण कोरिया, मलेसिया, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपाली दूतवासले ती देशमा कोरोना भाइरसका कारण सार्वजनिक स्थल, सार्वजनिक यातायात, सपिङ मलजस्ता मानिसको बढी भीडभाड लाग्ने ठाउँमा जाँदा विशेष सतर्क तोकेका स्वास्थ्य मापदण्ड अपनाएर मात्रै जान आग्रह गरेका छन् । यस्तै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नसमेत विदेशस्थित राजदूतावासहरूले अनुरोध गरेका छन् ।
वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले श्रम गन्तव्य देशमा कोरोना सङ्क्रमणको नयाँ लहर फैलिन थालिसकेकाले ती मुलुकमा रहेका दूतावास र सरकारले विशेष तयारी अहिलेबाटै थाल्नुुपर्ने बताउनुुभयो । उहाँले भन्नुभयो, यसअघि कोरोनाले सिकाएका भोगाइको अनुुभवलाई लिएर तयारी गर्नुपर्छ, उहाँले भन्नुभयो । कोरोना सङ्क्रमण बढेको श्रम गन्तव्य देशमा तत्काल जाने तयारी गरेका युवालाई जाने देशको सङ्क्रमणको अवस्था सबै बुुझेर मात्रै यात्रा तय गर्नुपर्ने उहाँको सुझाव छ ।
दूतावासले सतर्क रहनु भन्ने सूचना जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने भन्दै डा. गुुरुङले श्रम गन्तव्य देशमा कोरोना सङ्क्रमण बढेर नेपाली उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । त्यस्तो परिस्थितिका लागि दूतावास आन्तरिक तयारीमा रहनुपर्ने उहाँको भनाइ छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालीका प्रमुुख श्रम गन्तव्य देशमा पछिल्लो पटक कोरोना सङ्क्रमण दर पुनः बढ्दै गएको विषय बाहिर आए पनि श्रम स्वीकृति नै रोक्ने विषयमा अहिलेसम्म कुनै देशका नियोगमार्फत औपचारिक जानकारी नआएको बताउनुुभयो । गति लिन थालेको वैदेशिक श्रम बजारले पुनः कोरोनाको महामारी फैलिएको अवस्थामा भयाभय अवस्था आउन सक्ने भएकाले विदेशमा रहेका नेपालीलाई सतर्क रहन उहाँले आग्रह गर्नुभयो । कोरोना बढेर विदेशबाट नागरिक उद्धार नै गर्नुुपरेमा पनि यसअघिको सिकाइ, भोगाइ र अनुुभवबाट अगाडि बढ्न सहज हुने उहाँको भनाइ छ ।