देशभर खाद्यमा २० प्रतिशत छुटको व्यवस्था लागू हुने
गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २८ गते । अगामी दिन खाद्यमा २० प्रतिशत छुटको व्यवस्था देशभर लागू हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार लिमिटेडका सूचना अधिकारी सर्मिला न्यौपाने सुबेदीले यस्तो व्यवस्था लागू हुने बताउनु भएको हो ।
उहाँका अनुसार खाद्यमा भएको छुटले उपभोक्ताहरु लावान्धित भएपनि लकडाउनले यातायातको समस्या भने भोगिरहेका छन् । लकडाउनले यातायात नहुँदा समान लिन आउनेको संख्या कम रहेको सूचना अधिकारी न्यौपानेले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार लिमिटेले उपत्यकामा काठमाडौँको थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सुर्यविनायक बिक्री कक्ष तथा अन्य जिल्लामा कम्पनीका कार्यालय र बिक्री कक्षबाट सामाग्री उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । “अहिले उपत्यकाको ४–५ ठाउँबाट खाद्य समान विक्रिवितरण गरिरहेका छौँ, यो व्यवस्था विस्तारै देशभर लागू हुनेछ, यातायातको समस्याले सामान लिन आउनेको संख्या कम रहेको छ”–सूचना अधिकारी न्यौपानेले भन्नुभयो ।
अहिलेसम्म गत जेठ २१ गतेदेखि २६ गतेसम्ममा व्यापार भएको ३५ हजार ६५ किलो कूल विवरणमा छुट रकम ४ लाख ३६ हजार ९१४ रुपियाँ रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । खाद्यमा २० प्रतिशत छुटको व्यवस्था अभियानकै रुपमा रहेको उपभोक्ता संरक्षण मञ्चका सचिव हरि मैनालीले बताउनुभएको छ ।
उहाँले बजारमा निजि क्षेत्रबाट भएको व्यापार के–कति मात्रामा नाफा लिएको छ । नाफा र मूल्यको अन्तर तुलना गर्न सजिलो हुने बताउनुभयो । उहाँले भन्नुभयो,“खासमा बजारको उपभोग र उपभोक्ताहरुको माग बमोजिम काम गर्न नसके पनि यस्ता कामले बजार सन्तुलन र मार्केटिङ्ग टिप्सलाई सन्तुलन गर्छ ।”