दश वर्षपछि सञ्चालनमा आयो कमला पुल
बाबुराम देवकोटा
दुधौली(सिन्धुली, असार ४ गते । सिन्धुलीको दुधौली नगरपालिका–२ रतनपुर निवासी शम्भु माझी पुल बन्नु अघि कमला नदीले बर्सेनि बगाएका मानिस अझै झल्झली सम्झिनु हुन्छ । ‘बर्षादको मौसममा कमला नदी वारपार गर्ने क्रममा कम्तीमा पनि चार÷पाँच जनाले ज्यान नगुमाएको बर्ष हुदैनथ्यो,’ उहाँले भन्नुभयो, ‘कमला नदीमा पुल बनेर सञ्चालनम आएसँगै ती सबै एकादेशको कथा बनेका छन् ।’
धरान–चतरा–सिन्धुली–हेटौडा सडक अन्तर्गत विगत १० वर्षदेखि अलपत्र अवस्थामा रहेको कमला नदीमा पक्की पुल बनेर दुई दिन अघिदेखि सञ्चालनमा आएसँगै स्थानीयमा अहिले खुशीयाली छाएको उहाँले सुनाउनुभयो ।
दुधौली नगरपालिका–२ गागन र दुधौली नगरपालिका–३ निपानेलाई जोड्ने गरी कमला नदीमा १० वर्षअघि उक्त पुल निर्माण सुरु भएको थियो । अर्का स्थानीय शिक्षक ध्रुबनिसान पहाडीले बीचमा लामो समयसम्म पुल अलपत्र हुँदा स्थानीयलाई पुल बन्दैन कि भन्ने चिन्ताले पनि सताएको सुनाउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘अब कमलाले बगाएर मानिसको मृत्यु भयो भनेर सुन्ने दिन गए । उही कसैले पुलबाटै हाम्फालेर ज्यान फाले भने त भन्नु केही छैन ।’ उहाँका अनुसार विगतमा पुलको अभावमा साह्रो गाह्रो परेका बेला कमला नदीमा भेल भन्न पाईदैनथ्यो । अप्ठेरोमा परेका मानिसले दनुवारलाई पैसा दिएर तार्न लगाई कमला नदीवार पार गर्नु पर्ने बाध्यता थियो । अब उक्त दुःख हटेको छ ।
उक्त पुल निर्माणको ठेक्का लिएको पप्पु कन्ट्रक्सनलाई हटाएर जेभीमा सँगै काम गरेको लुम्बिनी कन्ट्रक्सनलाई जिम्मा दिएसँगै पुल निर्माण कार्य सम्पन्न भएको चतरा–सिन्धुली–हेटौंडा बैकल्पिक राजमार्गको पूर्वी खण्ड आयोजनाका ईन्जिनियर तथा सूचना अधिकारी शङ्कर पौडेलले सुनाउनुभयो । उहाँले अब पूलको दायाँबायाँ गरी पाँच सय मिटर सडक मात्रै पिच (कालोपत्रे) गर्न बाँकी रहेपनि पुलको निर्माणको सबै काम सकिएकाले असार २ गतेदेखि सवारी साधान आवतजावत गर्न खुला गरिएको बताउनुभयो ।
सूचना अधिकारी पौडेलले भन्नुभयो, ‘उक्त सडक पिच गर्ने कार्य पनि धमाधम भरहेको छ ।’ उक्त सडक आयोजनाका अनुसार पप्पु कन्ट्रकसनले २०६८ सालमा सम्झौता गरी उक्त कमला नदीमा पक्की पुल निर्माण सुरु भएको थियो । तर आधा पनि काम नगरी पप्पुले अलपत्र अवस्थामा छाडेपछि जेभी (साझेदार)मा सँगै काम गरेको लुम्बिनी कन्ट्रकसनले गत वर्ष माघ महिनामा जिम्मा लिएर बाँकी काम सुरु गरेको थियो । कुल ५४६ मिटर लम्बाइ रहेको १४ वटा स्पानको उक्त पुलको सबै काम सकिएको छ । लुम्बिनी कन्ट्रकसनले एक बर्षभित्र उक्त पुल निर्माण सम्पन्न गर्ने जिम्मा लिएर बाँकी काम सुरु गरेको थियो ।
आयोजनाका अनुसार करिब ३१ करोड रुपियाँ लागतमा उक्त पुल निर्माण सुरु भएको थियो । उक्त पुल निर्माणको ठेक्का पप्पु–लुम्विनी जेभिले पाए पनि उक्त कम्पनीको ठेकेदारको आन्तरिक सहमति अनुसार पुल निर्माणको काम पप्पुलै मात्रै निर्माण सुरु गरेको थियो । २०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पप्पु लुम्विनी जेभिले २०६८ असार ३१ गते सम्झौता गरी पुल निर्माण सुरु गरेका थिए । पप्पुले तोकिएको समयमा पुल निर्माण नसकेपछि २०७४ साउन १४ सम्म म्याद थपिएको थियो ।
यता लुम्बिनी कन्ट्रक्सनका ठेकेदार शङ्कर राउतले पनि २०७७ पुस महिनासम्ममा पुल निर्माणकार्य सकिने योजना रहे पनि बीचमा भएको लकडाउनका कारण निर्माण सामग्री झार्न नपाएर काम तोकिएको समयमा सिध्याउन नपाएको बताउनुभयो । उक्त पुल सञ्चालनमा आएसँगै नेपाल सरकारको राष्ट्रिय गौरबको आयोजना धरान–चतरा–सिन्धुली–हेटौडा सडक अन्तर्गत कटारीदेखि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीसम्म बाह्रै महिना यातायात सञ्चालन गर्न सुविधा पुगेको स्थानीय बासिन्दा बताउँछन् ।