अर्थ | समाज |

लिची सस्तोमा विक्री गर्न कृषक बाध्य


अमरराज नहर्की
तनहुँ, असार ९ गते । कोरोनाको सङ्क्रमणले गर्दा विक्री गर्न समस्या भएपछि तनहुँका कृषकले सस्तोमा लिची बेच्न बाध्य भएका छन् । पहिला बगैचामै आएर ग्राहकले लैजाने गरेकोमा हाल सहरमा लगेर सस्तोमा बेच्नु परेको कृषकले बताएका छन् । लिची पाकेको समयमा निषेधाज्ञा जारी रहेकाले विक्री गर्न कठिनाई भएको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष यालबहादुर गुरुङले जानकारी दिनुभयो ।

व्यवसायिक रुपमा लिची खेती समेत गर्नुभएका वडाध्यक्ष गुरुङ गत वर्ष पनि निषेधाज्ञा भएकोले विक्री समस्या हुँदा कृषकलाई मर्का परेको बताउनुभयो । ‘‘सार्वजानिक यातायातका यात्रुले लिची किनेर खान्थे, घर लैजान्थे निषेधाज्ञाले गर्दा यात्रुवस नचलेकोले विक्री गर्न समस्या भएको छ’’ वडाध्यक्ष गुरुङले भन्नुभयो । वडाध्यक्ष गुरुङका अनुसार सो वडाका व्यवसायिक रुपमा लिची लगाएका एकसय जना कृषकहरुले सस्तो मूल्यमा लिची विक्री गरेका छन् । कृषक आफैँ नजिकको बजार क्षेत्र, नारायणगढ मुग्लिन र आँबुखैरेनीमा सार्वजानिक यातायातमा लक्षित गरी कृषकले विक्री गर्दै आएका थिए । कृषक स्वयम्ले बगैंचाबाटै खुद्रा प्रतिकिलो रु १५० र थोकमा १०० रुपियाँमा विक्री गर्दै आएको थोक मूल्यमा प्रतिकिलो ७० रुपियाँमा विक्री गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

निषेधाज्ञाको बेला अत्यावश्यक सामान ढुवानी गर्न पाउने भनिए पनि सार्वजानिक यात्रुबस नचल्ने दिउँसो बजार बन्द हुने जस्ता कारणले ग्रामीण भेगमा भएका उत्पादनले बजार नपाएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार तनहुँमा गत वर्ष १६ हेक्टर जमिनमा व्यवसायिक रुपमा लिची खेती हुने गरिएकोमा १३७ मेट्रिकटन उत्पादन भएको थियो । विगतमा कृषकले फलाएको लिचीलाई प्रतिकिलो रु १०० देखि रु १२० मा बोटबाट नै विक्री गर्दै आएका थिए । लिचीको बोट प्रशस्त हाँगा भएको हुन्छ । फल झुप्पामा फल्छ । पाकेको फलमा कार्बाहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, खनिज तत्व, भिटामिन ए, बी र प्रशस्त मात्रामा भिटामिन सी पाईने चिकित्सक बताउँछन् ।