सुदूरपश्चिम प्रदेशको बजेट बहुमतबाट पारित
अविनाश चौधरी
धनगढी, असार १४ गते । सुदूरपश्चिम प्रदेश सभाबाट सुदूरपश्चिम प्रदेशको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ पारित भएको छ ।
सोमबार बसेको प्रदेश सभा बैकले बहुमतले विधेयक पारित गरेको हो । यसैगरी, आर्थिक वर्ष २०७८÷७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मतले पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले सभाबाट विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
यसअघि, आगामी आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रममाथि उठेको विषयमा जवाफ दिनुहुँदै मन्त्री शाहले बजेट तर्जुमा गर्दा विनियोजन कुशलता कायम गरेको र बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्रलाई समेट्दै पूर्वाधार र स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएको उल्लेख गर्नुभयो । वास्तविक विश्लेषणको आधारमा बजेटको आकार तय गरेको उल्लेख गर्दै उहाँले दोहोरो योजना, छपाइ त्रुटि तत्कालै सच्याइने बताउनुभयो ।
कोरोनाविरुद्धको खोपका लागि सङ्घीय सरकारले बजेट छुट्टयाएका कारण प्रदेश सरकारले सो शीर्षकमा बजेट विनियोजन नगरेको उल्लेख गर्दै उहाँले समग्र स्वास्थ्य अवस्था सुधारका लागि एक अर्बभन्दा बढी बजेट छुट्टयाएको बताउनुभयो । आगामी आर्थिक वर्षदेखि योजना बैङ्क कार्यान्वयन गरेर कडाइका साथ योजना लागू गर्ने मन्त्री शाहको भनाइ थियो ।
यस्तै, प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको समग्र बजेटको ३९ प्रतिशत बजेट आफ्नो मन्त्रालयका लागि विनियोजन भएको बताउँदै बजेटको प्रभावकारी कार्यान्वयनका लागि कानूनी रुपमा अगाडि बढ्ने बताउनुभयो । उहाँले प्रदेश सभालाई विश्वासमा लिएर परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै, विशेष समयमा बोल्नुहुँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन महत्वपूर्ण अङ्ग भएकाले मठमन्दिरका लागि बजेट विनियोजन गरेको बताउनुभयो । ‘तर पनि, पहिलेको तुलनामा ३५ प्रतिशत बजेट कटौती गरेर मन्दिरका लागि १० प्रतिशतमात्रै बजेट छुट्टयाएका छौं’, उहाँले भन्नुभयो ।
यस्तै, कैलाली, कञ्चनपुरमा भइरहेको वन फडानीलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उहाँको भनाइ थियो ।