मूल्य वृद्धिको कारण बजारको तह
गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १५ गते । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढ्यै छ । कोरोनाको दोस्रो लहरका कारण रोजगारी गुमाएका र बेरोजगार उपभोक्ता बढ्दो बजार भाउले झनै मारमा परेका छन् ।
ठेलागाडामा जुत्ताचप्पल राखेर सहर डुलाएर बिक्री गरेर चार जनाको परिवार पाल्दै आउनुभएका स्वरोजगार विवेक थापाको गत वैशाखदेखि ठेला थन्किएको छ । अहिले उहाँहरूलाई बिहान बेलुकी छाक टार्न समस्या छ ।
“गरिखाने माध्यम बन्द गरेर बस्नुपरेको छ,” उहाँ भन्नुभयो, “बजार भाउ बढेको बढ्यै छ । हामीजस्ता निम्न वर्ग के गरी बाँच्ने हो ?” थापाजस्ता धेरैको कोरोनाका कारण बाँच्ने आधार लुटिएको छ ।
नियमनकारी निकायले बजार अनुगमनलाई प्राथमिकता नदिँदा बजारमा सीमित व्यापारीले फाइदा लुट्ने गरेको र कोरोनाले थलिएका उपभोक्ता मारमा परेको उपभोक्ता अधिकारकर्मीको आरोप छ । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजार नियमनको प्रमुख निकाय जनशक्ति र साधन स्रोतको अभावका कारण बजार अनुगमन छायामा परेको बताउनुभयो ।
उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ ले बजारको तह निर्धारण गर्ने व्यवस्था गरिए पनि यसको कार्यान्वयनका लागि आवश्यक कार्यविधि निर्देशिका बनाउन मन्त्रालयले बेवास्ता गरेका कारण अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।
बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मूल्य वृद्धि हुनुको प्रमुख कारण ‘बजार तह’ रहेको निष्कर्ष निकालेको छ । वस्तुको उत्पादनपछि नाफा बढाउन विभिन्न तह निर्माण गरिँदा बजार भाउ उकालो लाग्ने गरेको विभागले दाबी गरेको छ । उत्पादकदेखि उपभोक्तासम्म आइपुग्दा बनेका तहले विभिन्न प्राकृतिक तथा मानवीय सङ्कटमा यी निकायहरू सल्बलाउँदा उपभोक्तालाई चर्को मारमा पर्दै आएका छन् ।
विभागका महानिर्देशक प्रकाश पौडेलले वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमको उच्चस्तरीय संयुक्त अनुगमनका क्रममा मूल्य वृद्धिको कारक बजारको तह नै देखिएको बताउनुभयो । उहाँका अनुसार संयुक्त अनुगमन धादिङको धुनीबेँसी, नौबिसेदेखि चितवनको मुग्लिङ, मकवानपुर, बारा, पर्साका विभिन्न एलपी ग्यास उद्योग र पेट्रोल पम्प, घिउ, तेल, दाल तथा चामल उत्पादन उद्योगहरूमा निरीक्षण गरिएको थियो । त्यस क्रममा उत्पादन र आपूर्तिको अवस्था सहज रहे पनि बजार तहकै कारण बजार भाउमा चर्को भएको पाइएको उहाँको भनाइ छ ।
“निषेधाज्ञाका क्रममा अत्यावश्यक वस्तुको उत्पादनमा समस्या देखिएन । मूल्य बढ्नुको मुख्य एउटा कारण तह धेरै हो,” महनिर्देशक पौडेलले भन्नुभयो, “अनुगमनका क्रममा मुनाफा राख्नका लागि केही तेल कम्पनीमा चार÷पाँच तहसम्म पाइयो भने चिनीलगायतका खाद्यवस्तुको हकमा छ तहभन्दा बढी रहेको पाइयो । ”
विभागका अनुसार खाद्यवस्तुको छ तह आवश्यक छैन । अधिकतम तीन/चार तह हुँदा आपूर्ति प्रणाली चुस्त हुन्छ तर बजारमा धेरै तह देखियो, उहाँले भन्नुभयो, “त्यो हुँदा तह/तहलाई कमिसन/नाफा राख्दा भाउ थप बढ्न पुग्यो । ”
उद्योगले मूल्य बढाएपछि खुद्रासम्म आइपुग्दा बीचका सबै तहले मूल्य बढाउँछन् । कुन तहले कति प्रतिशत नाफा राख्ने यकिन नहुँदा बजारमा समस्या उत्पन्न भएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा पनि एमआरपी, बजारको तह र नाफा तोक्नुपर्ने उल्लेख गरिएको छ तर हालसम्म कुनै प्रगति भएको छैन ।