अर्थ |

सामाजिक सुरक्षा कोषमा आबद्धता ऐच्छिक बनाउन माग

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १७ गते । बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बाध्यकारी नियम रहेको भन्दै त्यस्तो प्रावधान स्वेच्छिक बनाइनुपर्ने मागसहित उनीहरू आन्दोलित भएका छन् । त्यसैक्रममा विभिन्न बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले बुधबार सडकमै उत्रिएर कोषसँग यस्तो माग गरेका हुन् ।
बैङ्कमा कार्यरत कर्मचारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) अभिसम्बन्धी १९४९ नागरिकको मौलिक हक, श्रम ऐनको मर्मविपरीत बैङ्क, बीमा तथा वित्तीय संस्थाका कर्मचारीको संस्थागत हक र सामूहिक सौदाबाजी गर्न पाउने हक कुन्ठित हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको, खाइपाई आएको सेवा सुविधा घट्ने अवस्था आएको भन्दै विरोध गर्दै आएका छन्ध्र
बैङ्कका कर्मचारीहरूले तीन दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्ने, सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई बाध्यकारी भएको र न्यूनतम ज्याला पारिश्रमिकबाट बञ्चित बहुसङ्ख्यक श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेको भन्दै उनीहरूले कोषको योजनाको विरोध गरेका छन् । वित्तीय संस्था कर्मचारी सङ्घका उपाध्यक्ष पर्शुराम खनालले वित्तीय संस्थामा आबद्ध कर्मचारीले उठाएका समस्याको ऐनमार्फत संशोधन गर्ने विषयमा कोष सहमति नभएसम्म कोषमा आबद्ध हुन नसक्ने बताउनुभयो ।
सामाजिक सुरक्षा कोषले भने यही असार मसान्तभित्र बैङ्क तथा वित्तीय संस्थालाई कोषमा आबद्ध हुन निर्देशन दिइरहेको छ । कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन ऐन दोस्रो संशोधनले उहाँहरूका सबै माग यसअघि नै गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोषमा आबद्ध भइसकेपछि आएका समस्या समाधान गर्ने विषयमा कोष तयार छ भनेकै छौँ । उहाँहरू कोषको योजनामा आबद्ध नभई विभिन्न समस्या देखाएर विरोध गरिरहनुभएको छ । यो कसरी सम्भव हुन्छ, उहाँहरू कोषमा आबद्ध हुनै पर्छ।
आन्दोलित कर्मचारीहरूले राखेका अन्य माग सम्बोधनको सम्भावना भए पनि कोषमा आबद्ध हुनुपर्ने व्यवस्थालाई स्वेच्छिक बनाइनुपर्ने कुरामा असम्भव भएको निर्देशक पन्थीको भनाइ छ ।
ट्रेड युनियनकर्मीले पनि आन्दोलित कर्मचारीलाई कोषमा आबद्ध हुन आग्रह गरेका छन् । नेपाल टे«ड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले सामाजिक सुरक्षा योजना सबै तहका कर्मचारी समेटिने कार्यक्रम भएकाले बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई बिनासङ्कोच आबद्ध हुन आग्रह गर्नुभयो ।
उहाँले ऐन नियममा कुनै समस्या आएमा सामूहिक छलफलबाट पनि समाधान खोज्न सकिने बताउनुभयो । बैङ्क तथा वित्तीय कर्मचारीको आन्दोलन कर्मचारीको स्वार्थभन्दा पनि बैङ्क सञ्चालक रोजगारदाताको बढी स्वार्थ देखिएको भन्दै आचार्यले यस विषयमा स्वयं कर्मचारी सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कोषमा आबद्ध हुने बढ्दै
कोषका अनुसार पछिल्लो पटक वाणिज्य बैङ्कतर्फ स्टान्डर्ड चार्टर बैङ्क र लक्ष्मी बैङ्क कोषमा सूचीकृत भई योगदानबापतको रकमसमेत जम्मा गर्न थालिसकेका छन् । स्टान्डर्ड चार्टर बैङ्कका ५०२ र लक्ष्मी बैङ्कका एक हजार २६२ जना कर्मचारीको योगदानबापतको रकम कोषमा जम्मा गर्न थालिएको होध्र
यसैगरी विकास बैङ्कतर्फ ग्रिन विकास बैङ्क, कर्णाली विकास बैङ्क र देव विकास बैङ्क पनि कोषमा सूचीकृत भई कोष वैशाखको पैसा जम्मा गरिसकेका छन् । फाइनान्सतर्फ ११ वटा कोषमा सूचीकृत भएकोमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, आईसीएफसी फाइनान्स, पोखरा फाइनान्स, गोरखा फाइनान्सले पैसा जम्मा गर्न थालिसकेको कोषले जनाएको छ ।
त्यसैगरी बीमा कम्पनीतर्फ ३५ वटा कोषमा सूचीकृत भइसकेकोमा प्राइमलाइफ, सिटिजन, रिलाइन्स, शिखर, सूर्य, सगरमाथा, सन् नेपाल र प्रिमियमलगायतका आठवटा बीमा कम्पनीले योगदानकर्ताको पैसा कोषमा जम्मा गरिसकेका छन् । यस्तै लघुवित्ततर्फ ३९ वटा कोषमा सूचीकृत भइसकेकोेमा जनउत्थान, लक्ष्मी, राष्ट्र उत्थान, वोमी, सर्पोटलगायत ११ वटाले कोषमा रकम जम्मा गरिसकेका छन्ध्र