अर्थ |

यान्त्रीकरण गर्दै महानगर

गोरखापत्र अर्थ बजार

काठमाडौँ, असार २० गते । कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्न स्थानीय तहका सरकारहरूले विभिन्न पहल गरिरहेका छन् । परम्परागत कृषि प्रणाली अन्त्य गर्न र माटोको गुणस्तरलाई पनि बचाई दिगो रूपमा उत्पादकत्व बढाउन स्थानीय सरकारहरूका योजना कार्यान्वयनमा रहेका छन् । त्यस क्रममा धेरै स्थानीय तहहरूले अनुदानमा कृषि यन्त्र प्रदान गरिरहेका छन् भने कतिपयले जैविक मल कारखाना नै खोलेर किसानलाई प्रोत्साहित गरेका छन् । यस्तो कार्यमा महानगरपालिकादेखि गाउँपालिकासम्म रहेका छन् ।

नारायणगढ समाचारदाताका अनुसार भरतपुर महानगरपालिकाले अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले अनुदानमा जोत्न ट्याक्टर र यान्त्रिक हलो (पावर ट्रिलर), धान रोप्न र बीउ प्रशोधन गर्ने मेसिन (कम्बाइन्ड हार्भेस्टर)जस्ता उपकरण जिल्लाका अगुवा किसान तथा कृषि सहकारीहरूलाई वितरण गरेको छ ।
चालू आर्थिक वर्ष २०७७/७८ मा महानगरले एक करोड २५ लाख रुपियाँ बराबरका कृषि उपकरण खरिदमा किसानलाई अनुदान दिएको महानगरका अर्थ महाशाखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिनुभयो ।
“चालू आर्थिक वर्षमा एक कम्बाइन्ड हार्भेस्टर, एक पावर ट्रिलर, एक धान रोप्ने मेसिन र छवटा ट्याक्टरमा किसानलाई अनुदान दिइएको” प्रमुख अर्यालले बताउनुभयो । यसरी दिइने उकरणको मूल्यमा ५० प्रतिशत महानगरको अनुदान छ । महानगरले असारभित्रै चारवटा बीउ प्रशोधन मेसिन र एउटा सुकाउने मेसिन पनि किसानलाई वितरण गर्ने तयारी गरिरहेको छ ।
भरतपुर महानगरकी प्रमुख रेणु दाहालले स्मार्ट सिटीको अवधारणा अघि बढेको भरतपुरमा कृषि कर्ममा पनि प्रविधिको प्रयोगलाई बढावा दिन कृषि उपकरणमा अनुदान सहयोग दिइएको बताउनुभयो ।
“चक्लाबन्दी गरी सामूहिक खेती गर्न उपकरण आवश्यक पर्छ,” भन्दै उहाँले थप्नुभयो, “किसानलाई प्रविधिमार्फत कृषि कर्ममा अगाडि बढाउने र कृषि कर्ममा हुने लागत घटाएर किसानलाई कृषि कर्मबाट उचित लाभ लिन सकिने वातावरण सिर्जना गर्न महानगरले उपकरणमा अनुदान दिएको हो । ”भरतपुर महानगरपालिकाले पशुपालक किसानलाई पनि दूधमा दिँदै आएको अनुदान प्रतिलिटर एक रुपियाँलाई बढाएर तीन रुपियाँ दिएको छ ।

अनुदानमा ट्याङ्की र टनेल
तम्घास समाचारदाताका अनुसार गुल्मीको रेसुङ्गा नगरपालिकाले पनि किसानलाई पाँच सय लिटरका ट्याङ्की, टनेल र हाते ट्याक्टर अनुदानमा वितरण गरेको छ । नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम र साना किसान कृषि औजार कार्यक्रमबाट एक सयवटा ट्याङ्की, आठवटा हाते ट्याक्टर र ११० वटा टनेल ५० प्रतिशत अनुदानमा वितरण गरेकोे नगरपालिकाका सूचना अधिकृत शङ्कर गौतमले जानकारी दिनुभयो ।
किसानका लागि करिब ३५ लाख बराबरको उपकरण खरिद गरी ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख डिल्लीराज भुसालले किसानलाई वितरण गरिएको कृषि उपकरण र सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।

उदयपुरमा ७५ प्रतिशत अनुदानमा
गाईघाट समाचारदाताका अनुसार जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले कृषक समूहहरूलाई विभिन्न कृषि औजार वितरण गरेको छ । कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७/७८ को कृषि यान्त्रीकरण प्रवद्र्वन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेकोे कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त कार्यालय प्रमुख महेश चौधरीले बताउनुभयो ।
उहाँका अनुसार त्रियुगा नगरपालिकाका २६, कटारी नगरपालिकाका आठ, ताप्ली गाउँपालिकाका १०, चौदण्डी गढी नगरपालिकाका चार तथा बेलका नगरपालिका र रौतामाई गाउँपालिकाका एक/एक गरी ५० वटा कृषक समूहलाई ३७ लाख ४२ हजार रुपियाँको खर्चमा ४१ वटा मिनी ट्रिलर, छ थान रिपर र तीन थान ब्रस कटर वितरण गरिएको छ ।
(वसन्त पराजुली, तिलाचन पाण्डे र भक्तिविलास पोखरेलबाट)