अर्थ |

सुकेटारमा दुई महिनापछि उडान

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा शनिबारदेखि नेपाल वायुसेवा निगमको उडान सुरु भएको छ । कोरोना भाइरसका कारण बन्द भएको दुई महिनापछि सुकेटार विमानस्थलमा उडान सुरु भएको हो ।
गत सोमबारदेखि नै नियमित उडान सुचारु गर्ने निगमको कार्यतालिकाअनुसार उक्त दिन बिहान काठमाडौँबाट आएको ट्विनअटर जहाज मौसम प्रतिकूलताका कारण अवतरण हुन सकेको थिएन । शनिबार भने अनुकूल मौसम भएसँगै काठमाडौँदेखि सात जना यात्रु लिएर आएको जहाज (विमान) सुकेटारमा अवतरण भएको ताप्लेजुङस्थित निगमका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले जानकारी दिनुभयो ।
इन्चार्ज लिम्बूका अनुसार ताप्लेजुङबाट १६ जना यात्रु लिएर विमान काठमाडौँ फर्किएको थियो । अबदेखि काठमाडौँ–ताप्लेजुङ, ताप्लेजुङ–काठमाडौँ हप्ताको चार दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार नियमित उडान हुने पनि नेपाल वायुसेवा निगमले जनाएको छ ।