अर्थ | फिचर |

ललितपुर महानगरपालिकाको बजेट पारितः पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा   

ललितपुर, साउन २ गते । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट पारित गरेको छ।  महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार विनियोजित बजेटमध्ये चालू खर्चतर्फ रु ९१ करोड ६१ लाख ५७ हजार र पूँजीगत खर्चतर्फ रु तीन अर्ब २४ करोड ३० लाख छुट्याएको छ ।   पूर्वाधार र मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको प्रमुख महर्जनले बताउनुभयो । “पूर्वाधार निर्माणसँगै मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “विकास सूचकांकको आधारमा महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ ।”    
 वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन 

महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ । १३ वटा वडालाई सबैभन्दा बढी रु तीन करोड २५ लाख, आठ वटा वडालाई रु दुई करोड ५० लाख र सातवटा वडालाई रु दुई करोड १५ लाख बजेट विनियोजन गरिएको छ। 

  महानगरपालिकाका प्रमुख महर्जनका अनुसार वडा नं १२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा रु तीन करोड २५ लाख, बडा नं २, ३, ४, ५, ९, १३, १५ र १७ मा रु दुई करोड ५० लाख तथा वडा नं १, ६, ७, ८, १०, ११ र १९ मा दुई करोड १५ लाखका दरले बजेट विनियोजन भएको छ ।

 महानगरपालिका बनाउने क्रममा गाभिएका वडामा धेरै काम गर्न बाँकी रहेकाले बढी बजेट विनियोजन गरिएको प्रमुख महर्जनले बताउनुभयो । यसैगरी महानगपालिकाले महानगरीय योजनाअन्तर्गत वडा नं ११ मा विद्युतीय शवदाह गृह निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । शवदाह गृह सञ्चालनका लागि शवदाह यन्त्र सहयोगस्वरुप प्राप्त गर्ने पनि उहाँले जानकारी दिनुभयो । 

 त्यसैगरी महानगरपालिकाले लगनखेलस्थित सप्तपातल र राजदलगण परिसरमा रहेको पोखरी निर्माणका लागि रु पाँच करोड बजेट छुट्याएको छ । वडा नं २१ मा रुद्रायणी र वडा नं १३ मा पञ्चेश्वर महादेव मन्दिर पुनर्निर्माण, वडा नं २४ मा आयुर्वेदिक अस्पताल र वडा नं २७ स्थित कृष्ण मन्दिर पुनर्निर्माणसमेत यस आवमा शुरु गरिने महानगरपालिकाको योजना छ । महानगरपालिकाले चक्रपथमा स्मार्ट सडकबत्ती जडानका लागि रु सात करोड र कोभिड विशेष कार्यक्रमका लागि रु पाँच करोड छुट्याएको प्रमुख महर्जनले जानकारी दिनुभयो ।