ह्वीलचियरको भरमा कृषि फर्म, वार्षिक छ लाख बचत
ललित बसेल
सुर्खेत, साउन ३२ गते । विहान उठ्न बित्तिक्कै भेरीगङ्गा नगरपालिका—६ घारीबनका कृषक कविराम खड्का ह्वीलचियरको सहायताले खोरभरी रहेका बाख्रालाई घाँस हाल्न खोरमा पुग्नुहुन्छ । बाख्रालाई घाँस हालेर कुखुरा, लोकल कुखुरा, टर्की, बट्टाईलाई चारो हाल्न जानुहुन्छ । यो क्रम साँझ अबेरसम्म चलिरहन्छ । ह्वीलचियरको पाङ्ग्रा गुडाउँदै आफ्ना बस्तुभाउ स्याहार्नु उहाँको दैनिकी छ ।
खड्काको मिहिनेतले जो कोहीको मन लोभिन्छ । उहाँको फर्म हेर्न जानेको अहिले ताँती लाग्ने गरेको छ । यतिखेर उहाँको कृषिफर्ममा विभिन्न प्रजातिका उन्नत जात बाख्रा, बँदेल, लोकल कुखुरा, टर्की, बटाइ छन् । काम गर्ने जोश जाँगर अनि इच्छाशक्ति हुने हो भने अपाङ्गता भए पनि केही फरक पर्दैन र गाँउमै बसेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ भने गतिलो उदाहरण खड्का बन्नुभएको छ ।
भेरीगङ्गा नगरपालिका —६ घारीवनमा उहाँले पशुपंक्षी कृषि फर्म दर्ता नै गरेर व्यवसाय सञ्चालन गर्नुभएको छ । शारीरीक रुपमा रूपमा अशक्त हुनुभएका खड्काको काम गर्ने दृढ इच्छा शक्तिलाई कसैले पनि रोक्न सकेनन् । उहाँको शरीरको तल्लो भाग चल्दैन । तर उहाँको हिम्मत र कृषि कर्मप्रतिको लगाव भने लोभलाग्दो छ ।
खड्काको कृषि फर्म मात्रै होइन उहाँले कुटानी पिसानी मिल पनि संचालन गर्नुभएको छ । यसबाटै आम्दानी राम्रो भएको उहाँ बताउनुहुन्छ ।
अधुरो रहर र व्यावसायिक यात्रा
सानै उमेरदेखि नेपाली सेनामा भर्ती भएर देशको सेवा गर्ने उद्देश्य बोक्नुभएका खड्काको सपना आजभन्दा १७ वर्ष अगाडि समाप्त भयो । सेनामा भर्ना हुनका लागि भनेर २०६१ सालमा घरबाट निस्कनु भएका उहाँ सुर्खेत वीरेन्द्रनगरको सेनाको व्यारेकसम्म त पुग्नु भएन बरु जीवन भर अपाङ्गता बनेर बस्नुपर्ने अवस्थामा आयो ।
उहाँलाई २०६१ कात्तिक ९ गते बीरेन्द्रनगरको इत्राम शिव मन्दिर नजिक तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीले सेनामा भर्ती हुन लागेको सुराकी पाएपछि गोली नै चलायो । त्यसपछि उहाँको होस, एकैपटक अस्पतालको शय्यामा आयो । भर्ती हुन उहाँसँगै गएका अन्य तीन जनाको गोली लागेर मृत्यु भयो । उहाँ गम्भीर घाइते हुनुभयो । त्यसपछि उहाँको शरीरको कम्मरदेखि तल्लो भाग चल्नै छोड्यो ।
विगत १७ वर्षदेखि ह्वील चियरबाटै उहाँले आफ्नो दैनिकी मात्र चलाउनुभएको छैन,घर परिवारको पालन पोषणको जिम्मेवारी पनि उहाँकै काँधमा आइलाग्यो । अपाङ्गता भइसकेपछिका केही वर्ष उहाँका लागि निकै पीडादायी बने । नौ महिने छोरो, तीन बर्षकी छोरी र श्रीमतीको पालपोषणमा उहाँलाइ निकै समस्या आइलागेको खड्का बताउनुहुन्छ । त्यसपछि उहाँले ह्वील चियरको सहायतामा बजार र गाँउगाँउमा मागेर भएपनि परिवारको गुजारा चलाउन थाल्नुभयो । तर त्यो पनि धेरै बर्ष टिकेन । अपाङ्गता शरीर लिएर जीवनयापन गर्न गाह्रो भयो । उहाँले बाँच्नका लागि कुनै पसल सञ्चालन गर्ने योजना बनाउनुभयो । तर उहाँसँग त्यसको लागी पैसा भने जुटाउनै गाह्रो भयो । तर जेनेतेन गरेर उहाँले ६ हजारबाट सानो घुम्ती पसल सञ्चालन गर्नुभयो । अनि शुरु भयो उहाँको व्यवसाय यात्रा । अहिले उहाँको व्यवसाय अहिले ८० लाखभन्दा माथि पुगेको छ । उहाँको व्यवसायमा अहिले श्रीमती, छोरा, बुहारीसँगै एक जनालाई रोजगारी समेत दिनुभएको छ ।
अपाङ्गता मैत्री कृषि फर्म
कृषि फर्मलाई आधुनिक तरिकाबाट निर्माण गरी पूर्णरूपमा अपाङगता मैत्री बनाएर उहाँ आफैले धेरैजसो काम गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, कतै सफलता मिल्यो, त कतै पीडा र सङ्घर्ष रह्यो । मिहिनेत र परीश्रम गरे एक दिन अवश्य सफल भइँदोरहेछ । शुरुका वर्षमा अनेकौ दुखःकष्टका दिनहरु सम्झना गर्दै उहाँले आजको यो अस्थानमा आउँछु जस्तो नलागेको बताउनुभयो । उहाँको फर्ममा डेढ सयभन्दा बढी बाख्रा र पाठापाठी, डेढ दर्जन बढी बँदेल, एक हजार बढी कुखुरा, टर्की, बट्टाई छन् ।
बार्षिक आम्दानी
काम गर्ने जोश र जाँंगर हुने हो, भने आफ्नै माटोमा राम्रो आम्दानी गर्न सकिँदोरहेछ । अहिले बर्षमा सबै खर्च कटाएर ६ देखि सात लाखसम्म बचत हुने गरेको उहाँले बताउनुभयो । बजार पनि राम्रो छ । उत्पादन गरेका वस्तुलाई बजार सम्म पु¥याउनु पर्ने समस्या पनि छैन । उहाँले ग्राहक आफै फर्ममै आएर लैजान गरेको बताउँदै आफूले उत्पादन गरेको बस्तु जहरे, छिन्चु र बीरेन्द्रनगर सम्म पुग्ने उल्लेख गर्नुभयो । देशमा रोजगारी नपाएर विदेशिने युवालाई उहाँ भन्नुहुन्छ, आफ्नै देशमा केही ब्यापार, व्यावसाय गरे अर्कोको गुलामी गर्नुपर्दैन । स्वदेशमा रोजगार पाइँदैन, सानो पूँजीमा केही गर्न सकिँदैन भन्दै धमाधम ऋण काढेर विदेशिनेहरूलाई उहाँले गतिलो शन्देस दिनुभएको छ ।
न्याए अझै पाइएन
विना कारण आफूमाथि यस्तो घटना हुँदासमेत सरकारी पक्षबाट अहिलेसम्म न्याय पाउन नसकेको उहाँले गुनासो गर्नुभयो । अपाङ्गता भएर वर्षाैं बितिसक्दा पनि कुनै पक्षले आफ्नो बारेमा जानकारी नै नलिएको उहाँको दुःखेसो छ । अपांगता भएको घटनाबारे सत्य निरुपण तथा मेलमिलाप आयोगमा घटना दर्ता गराएको भए पनि अहिलेसम्म पनि कुनै सुनुवाइ भएको छैन । घटना दर्ता भएको छ तर अहिलेसम्म छानविन हुन सकेको छैन् । तत्कालीन विद्रोही पक्षबाट यति ठूलो घटना भएको दुई दशक हुन लाग्दा पनि छानविनसमेत नहुँदा न्याय पाउने आशा मरेकोमा उहाँले चित्त दुखाउनुभयो । अपाँगता भए वापत प्राप्त गर्ने मासिक ६ हजार बाहेक अहिलेसम्म उहाँले कुनै सहयोग पाउनुभएको छ । विना कारण आफू अपाङ्ग भएकोमा उहाँले द्वन्द्व गर्नेहरुसँग प्रश्न गर्नुहुन्छ, विना कारण हामीलाई किन बाँच्नु र मर्नुको वीचमा पा¥यौ ?