तीन करोड ६३ लाखभन्दा बढी बैङ्क खाता
गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ६ गते । बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाता सङ्ख्या तीन करोड ६३ लाख ६६ हजार पुगेको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार प्रकाशित गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’का अनुसार कर्जा खाता सङ्ख्या १६ लाख ८२ हजार ८४५ रहेको छ ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणका आधारमा सो अध्ययन प्रतिवेदन तयार पारिएको हो । वित्तीय साक्षरता प्रवद्र्धन, शाखा विस्तार, शाखारहित बैङ्किङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्नेलगायतका नीतिगत व्यवस्थाले बैङ्क तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा पु¥याउने नागरिकको सङ्ख्या क्रमशः घट्दै गएको अध्ययनले देखाएको छ ।
संस्थाको शाखा सङ्ख्या २०७७ चैत मसान्तमा पाँच हजार ९७८ पुगेको छ । साथै ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैङ्कको शाखा विस्तार भएको प्रतिवेदनमा उल्लेख छ ।
तीन पुस्ते विवरणका आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ ।
२०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको सङ्ख्या ६०.९ प्रतिशत रहेको थियो । कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको अध्ययनमा उल्लेख छ । प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैङ्किङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैङ्किङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । प्रतिखाता एटीएम, मोबाइल बैङ्किङ र इन्टरनेट बैङ्किङ प्रयोगकर्ता बागमती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६.११, ३३.१२ र ६.४० प्रतिशत रहेको सो अध्ययनमा देखिएको छ ।