अर्थतन्त्र खल्बलिँदा पनि बैङ्कहरुको नाफा उच्च
गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ७ गते । कोभिड–१९ का कारण सिङ्गो अर्थतन्त्र नै खल्बलिएका बेला वाणिज्य बैङ्कहरूको कार्यसम्पादन भने राम्रो देखिएको छ । पटकपटकको बन्दाबन्दी र निषेधाज्ञाले आर्थिक क्रियाकलाप प्रभावित हुँदा पनि वाणिज्य बैङ्कहरूका वित्तीय परिसूचक भने सबल देखिएका हुन् । त्यसको प्रत्यक्ष तस्बिर नाफामा देखिएको छ ।
‘क’ वर्गका २७ वटा वाणिज्य बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणअनुसार २७ वटा वाणिज्य बैङ्कहरूले कुुल ६३ अर्ब ३७ करोड ३८ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेका छन् । विवरणअनुसार वाणिज्य बैङ्कहरूले समग्रमा औसत २० प्रतिशत नाफा कमाएका छन् ।
यो नाफा अघिल्लो वर्षको तुलनामा १० अर्ब ५७ करोड रुपियाँले बढी हो । अघिल्लो आवमा त्यसबेला सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कले कुल ५२ अर्ब ८० करोड रुपियाँ खुद मुनाफा कमाएका थिए ।
गत आवमा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैङ्क नबिल हाे । सोे बैङ्कको नाफा अघिल्लो वर्षभन्दा ३०.०६ प्रतिशतले बढेर चार अर्ब ५० करोड रुपियाँ पुगेको छ । नबिलले खुद नाफा, वितरणयोग्य नाफा र प्रतिसेयर आम्दानीमा पनि अग्रता लिएको लिएको पाइन्छ तर चुक्ता पुँजी र जगेडा कोषमा क्रमशः ग्लोबल आईएमई बैङ्क, नेपाल बैङ्क र खुद ब्याज आम्दानीमा एनआईसी एसिया बैङ्क अगाडि देखिएका छन् ।
ग्लोबल आईएमई बैङ्कको खुद नाफा चार अर्ब १२ करोड रुपियाँ छ । यो खुद नाफा रकम अघिल्लो वर्षको भन्दा ४१.८७ प्रतिशतले बढी हो । गत आवमा धेरै नाफा कमाउनेमध्ये तेस्रो बैङ्कमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क छ ।
अघिल्लो वर्ष सबैभन्दा धेरै नाफा आर्जन गरेको यो बैङ्कको गत आवको नाफा रकम भने घटेको छ । बैङ्कले यस अवधिमा तीन अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैङ्कको यस्तो नाफा चार अर्ब ३७ करोड रुपियाँ थियो । नाफा कमाउने चौथो स्थानमा कृषि विकास बैङ्क रहेको छ । बैङ्कले गत वर्ष तीन अर्ब ६९ करोड रुपियाँ नाफा कमाएको हो । यस्तै पाँचौँमा रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्कले तीन अर्ब ६५ करोड रुपियाँ नाफा आर्जन गरेको छ ।
गत वर्ष तीन अर्बभन्दा बढी नाफा कमाउनेमा क्रमशः नेपाल बैङ्क, हिमालयन बैङ्क, एनआईसी एसिया र प्राइम कमर्सियल रहेका छन् । जसअनुसार एनआईसी एसियाले तीन अर्ब २५ करोड, प्राइम कमर्सियलले तीन अर्ब २५ करोड, नेपाल बैङ्कले तीन अर्ब छ करोड र हिमालयन बैङ्कले तीन अर्ब रुपियाँ खुद नाफा गरेका छन् ।
सिद्धार्थ बैङ्क, प्रभु बैङ्क, मेगा बैङ्क, कुमारी बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, एनएमबी र सानिमा बैङ्कले दुई अर्ब रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । सिद्धार्थ बैङ्कले दुई अर्ब ८३ करोड, मेगा बैङ्कले दुई अर्ब ३० करोड रुपियाँ, कुमारी बैङ्कले दुई अर्ब ११ लाख, नेपाल बङ्गलादेश बैङ्कले दुई अर्ब २९ करोड, एनएमबी बैङ्कले दुई अर्ब ७३ करोड रुपियाँ नाफा कमाएका छन् । सानिमा बैङ्कले दुई अर्ब २७ करोड रुपियाँ र प्रभु बैङ्कले दुई अर्ब एक करोड रुपियाँ नाफा गरेको छ । यी सबै बैङ्कको नाफा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
गत आवमा सिटिजन्स, लक्ष्मी, एभरेस्ट, सनराइज, माच्छापुच्छे«, एनसीसी, स्ट्यान्डर्ड चार्टर्ड र बैङ्क अफ काठमाण्डूले एक अर्बभन्दा बढी नाफा गरेका छन् भने सिभिल, एसबीआई र सेन्चुरीको नाफा एक अर्ब रुपियाँभन्दा कम छ । सिटिजन्स बैङ्क इन्टरनेसनल एक अर्ब ५९ करोड रुपियाँ, लक्ष्मी बैङ्कले एक अर्ब ५४ करोड रुपियाँ, एभरेस्ट बैङ्कले एक अर्ब ८२ करोड रुपियाँ, सनराइज बैङ्कले एक अर्ब ५८ करोड, माछापुच्छ«े बैङ्कले एक अर्ब ६१ करोड रुपियाँ, एनसीसी बैङ्कले एक अर्ब २७ करोड रुपियाँ, स्ट्यान्डर्ड चार्टर्डले एक अर्ब १७ करोड रुपियाँ र बैङ्क अफ काठमाण्डू्ले एक अर्ब १२ करोड रुपियाँ खुद नाफा आर्जन गरेका छन् ।
सिभिल बैङ्कले ५५ करोड रुपियाँ, नेपाल एसबीआई बैङ्कले ९६ करोड रुपियाँ र सेन्चुरी कमर्सियल बैङ्कले ७५ करोड रुपियाँ नाफा कमाएका छन् ।