अर्थ |

ह्विलचेयर गुडाउँदै, बस्तुभाउ स्याहार्दै

ललित बसेल

सुर्खेत, भदौ १२ गते । भेरीगङ्गा नगरपालिका–६, घारीवनका कृषक कविराम खड्का एकाबिहानै ह्विलचेयरको पाङ्ग्रा गुडाउँदै बाख्राको खोरमा पुग्नुहुन्छ । बाख्रालाई घाँस हालेपछि बँदेललाई दाना खुवाउने काम गर्नुहुन्छ ।
त्यहाँबाट उहाँको ह्विलचेयर कुखुरा, टर्की, बट्टाईको खोरतर्फ मोडिन्छ । ती पन्छीलाई पनि चारो हाल्न र रेखदेख गर्न कविराम प्रायः दिनभरि नै व्यस्त रहनुहुन्छ । पछिल्ला केही वर्षदेखि ह्विलचेयरको पाङ्ग्रा गुडाउँदै आफ्ना कृषि फार्मको रेखदेख र स्याहर गर्नु उहाँको दैनिकी बनेको छ । उहाँको फार्ममा डेढ सयभन्दा बढी बाख्रा र पाठापाठी, डेढ दर्जनभन्दा बढी बँदेल, एक हजारभन्दा बढी कुखुरा, टर्की, बट्टाई रहेका छन् ।
खड्काको मेहनत र सफलताले जो कोहीको मन लोभिन्छ । मनमा काम गर्ने जोशजाँगर अनि इच्छा शक्ति भयो भने शारीरिक अपाङ्गता नै भए पनि रोकिनु नपर्ने रहेछ भन्ने उदाहरण खड्का बन्नुभएको छ ।
कृषि फार्म मात्र होइन, उहाँले कुटानी पिसानी मिल पनि सञ्चालन गर्नुभएको छ । यसबाटै आम्दानी राम्रो भएको उहाँ बताउनुहुन्छ । उहाँले आफ्नो फार्मको सम्पूर्ण पूर्वाधर अपाङ्गमैत्री बनाउनुभएको छ । जसले गर्दा उहाँ सजिलै ह्विलचेयरमा गुड्न सक्नुहुन्छ ।

अधुरो रहर र व्यावसायिक यात्रा
आजभन्दा १७ वर्षअघि नेपाली सेनामा भर्ती हुने सपना बोकेर घरबाट हिँड्नुभएका खड्काको त्यो सपना त पूरा भएर बरु सफल उद्यमी भने बनायो । सेनामा भर्ना हुनका लागि भनेर २०६१ सालमा घरबाट निस्कनुभएका उहाँ सुर्खेत वीरेन्द्रनगरको सेनाको ब्यारेकसम्म त पुग्नुभएन बरु जीवनभर अपाङ्गता सहेर बस्नुपर्ने अवस्थामा आइप-यो ।
वि. सं. २०६१ कात्तिक ९ गते अन्य साथीको साथ लागेर सेनामा भर्ती हुन हिँडेको समयमा वीरेन्द्रनगरको इत्राम शिव मन्दिर नजिक तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीले उहाँहरूमाथि गोली चलायो । गोली लागेर उहाँसँगै हिँड्नेका तीन जनाको मृत्यु भयो । उहाँ भने गम्भीर घाइते हुनुभयो । उहाँको शरीरको कम्मरदेखि तलको भाग सधँैका लागि नचल्ने भयो । हिँडडुलको सहारा ह्विलचेयर बन्न पुग्यो ।
त्यतिबेला नौ महिने छोरा, तीन वर्षकी छोरी र श्रीमती पाल्न उहाँले निकै सकस झेल्नुप-यो । केही वर्षसम्म ह्विलचेयर गुडाउँदै बजार र गाउँगाउँमा मागेरै गुजारा चलाउनुपरेको दिन उहाँ स्मरण गर्नुहुन्छ तर सधैँ मागेर पनि के चल्थ्यो ? माग्नुभन्दा आफूले सकेको काम गर्नुपर्छ भन्ने लागेर छ हजार रुपियाँ जोहो गरेर घुम्ती पसल सञ्चालन गर्नुभयो । त्यसपछि भने उहाँले एकपछि अर्को व्यवसायमा हात हाल्दै जानुभयो ।
सफलता पनि मिल्दै गयो । उहाँ भन्नुहुन्छ, “अहिले करिब ८० लाखभन्दा बढीको व्यावसायिक लगानी छ । घरपरिवारका लागि रोजगारी त मिलेकै छ । अन्य एक जनालाई पनि रोजगारी दिन सकेको छु । ” उहाँले सञ्चालन गरिरहेको व्यवसायबाट सम्पूर्ण खर्च कटाएर वार्षिक छदेखि सात लाख रुपियाँसम्म बचत हुने बताउनुहुन्छ ।