अर्थ |

वायुसेवाले फेससिल्ड हटाउने

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १६ गते । आन्तरिक वायुसेवा प्रदायकहरूले यात्रुहरूलाई उपलब्ध गराउँदै आएको फेससिल्ड बुधबारदेखि हटाउने भएका छन् ।
विश्वमा अन्य कुनै वायुसेवाले फेससिल्ड अनिवार्य नगरेको र सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिन्छ भन्ने पुष्टि भइसकेको अवस्थामा वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै फेससिल्ड हटाउने घोषणा गरेको जनाएको छ ।
सङ्घले नेपाली यात्रुहरूलाई मास्कसँगै फेससिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेससिल्डहरू विमानस्थलहरूमा जथाभावी फाल्दा असुरक्षित भई वातावरणीय समस्यासमेत देखिएको सङ्घले जनाएको छ ।
बुधबारदेखि यात्रुलाई अनिवार्य रूपमा मास्कको प्रयोगलाई नै प्राथमिकता दिएर यात्रा गराउने पनि सङ्घले जनाएको छ ।