अर्थ |

होटल उद्योगको संरक्षण गर्न आग्रह

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १७ गते । कोभिड–१९ सङ्क्रमणका कारण होटल उद्योगले भोगिरहेका समस्या र अति प्रभावित उद्योगलाई संरक्षण गर्न होटल सङ्घ नेपाल (हान)ले माग गरेको छ । अर्थमन्त्री जनार्दन शर्मासँग बुधबारको भेटमा कोरोना सङ्क्रमणका कारण विशेष गरी होटल उद्योग नराम्रोसँग थला परेकाले यसको संरक्षण र संवद्र्धन गर्नु राज्यको पनि उत्तिकै दायित्व रहेको सङ्घले जनाएको छ ।

सङ्घले आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्बोधन गरेका विषय साथै मौद्रिक नीतिले सम्बोधन गरेका विषय यथाशीघ्र कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।
भेटमा सङ्घले सरकारले लिएका नीतिहरू कार्यान्वयनका लागि सुझाव पनि दिएको छ । होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योगसरहको सुविधा प्रदान गर्नेगरी कार्यान्वयन गर्नुपर्ने, होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरहको विद्युत् महसुल दर कायम गरी उपलब्ध गराउनुपर्ने, होटल उद्योगलाई उपलब्ध गराएको विद्युत् डिमान्ड शुल्क छुट कार्यान्वनयमा आउन ढिलाइ भएकाले अविलम्ब कार्यान्वयन गरिदिन पनि सङ्घले अर्थमन्त्रीलाई सुझाव दिएको छ ।


सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट सहुलियत योगदान रकम जम्मा भएकामा राहत भएकाले यसलाई कम्तीमा एक वर्षसम्म निरन्तरता दिनुपर्ने, कोभिड महामारीको समयमा योगदानकर्ताले समयमा योगदान नगरेकै कारण स्वास्थ्यलगायतका आपत्कालीन सेवा लिनबाट वञ्चित नहुने गरी व्यवस्था गरिदिनुपर्ने सङ्घको सुझाव छ । होटल क्षेत्रका लागि लागू गरिएको सहुलियतपूर्ण १ प्रतिशत कर पाँच वर्षका लागि लागू गरिनुपर्ने, अधिकांश होटल पुनर्निर्माणका क्रममा रहेको हुँदा होटलमा आयात गरिने सामग्रीमा विशेष भन्सार छुटको व्यवस्था गरिनुपर्नेसमेत सङ्घको सुझाव रहेको छ ।
भेटका क्रममा अर्थमन्त्री शर्माले पर्यटन तथा होटल उद्योगको समस्याबारे जानकार रहेको र यसको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घका अध्यक्ष सिर्जना राणाले पर्यटन पुनरुत्थानका लागि विशेष आर्थिक योजना बनाई होटल उद्योगलाई फरक समूहमा राखेर कार्यान्वयन पक्षलाई जोड दिन आग्रह गर्नुभयो ।