औषधिको मागको आधा आन्तरिक उत्पादन
गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १८ गते । नेपालमा आवश्यक औषधिको ५० प्रतिशत आन्तरिक उत्पादन हुन थालेको छ । केही वर्षअघिसम्म करिब १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकामा अहिले त्यो बढेर करिब ५० प्रतिशत पुुगेको व्यवसायीले जनाएका छन् ।
नेपालको औषधि बजार करिब ४५ देखि ५० अर्बको रहेको छ । त्यसमा हाल ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटेको छ भने बाँकी औषधि भारतलगायतका मुुलुकबाट आयात हुने गरेको छ ।
उपयुक्त वातावरण बन्नसके छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दाबी उद्योगीहरूको छ । त्यसका लागि सरकारी नीति तथा कानुनमा परिमार्जनसाथ सोहीअनुसार अनुुकूल वातावरण बनाउनुपर्ने सुुझाव औषधि उद्योगीले दिएका छन् । यसका लागि विद्यमान औषधि ऐन २०३५ सहितलाई संशोधन गर्नुपर्ने बताइएको छ ।
औषधि उद्योगीहरूसँग नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको छलफलमा औषधिलगायत उद्योग–व्यवसायसँग सम्बन्धित सबै ऐन कानुनको प्रस्तावनामै उद्योग–व्यवसायलाई निरुत्साहित गर्ने खालको भाषा रहेकाले त्यसमा व्यापक सुधारको खाँचो रहेको सुुझाव उनीहरूले दिएको महासङ्घले जनाएको छ ।
नेपाल औषधि उत्पादक सङ्घ(एपोन)का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूको सम्मानमा महासङ्घले आयोजना गरेको स्वागत एवं बधाई कार्यक्रममा औषधि उद्योगीहरूले महासङ्घले अघि सारेको राष्ट्रिय आर्थिक रूपान्तरणको मार्गचित्र (नेट) २०३० लाई सफल पार्न आफ्नो क्षेत्रबाट पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत जनाएको छ ।
महासङ्घका अध्यक्ष शेखर गोल्छाले औषधि उत्पादक सङ्घका पदाधिकारीहरूलाई बधाई दिँदै मुलुकको आर्थिक भविष्य उज्जल बनाउने लक्ष्यका साथ महासङ्घले ल्याएको नेट २०३० को सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गर्नुभयो ।
महासङ्घका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठले महासङ्घले आफ्ना सदस्यहरूको समस्या समाधानमा सधैँ उच्च प्राथमिकता दिएको विश्वास दिलाउनुभयो ।
औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले केही वर्षअघिसम्म पनि नेपालमै औषधि बन्छ र ? भन्ने आमधारणा रहेकामा अहिले केही मात्रामा निर्यातसमेत गर्नसक्ने अवस्थामा पुुगेको बताउँदै सरकारको उचित सहयोग हुनसके अबको केही वर्षमै मुलुकलाई आत्मनिर्भर बनाउन सकिने दाबी गर्नुभयो ।