नेपाल–भारतबीच दोस्रो प्रसारण लाइन
गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २६ गते । नेपालर भारतबीच विद्युत् व्यापारका लागि दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने भएको छ । बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरसेन अफ इन्डिया लिमिटेडबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा भारतको नयाँ दिल्लीमा बुधबार हस्ताक्षर भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङर पावर ग्रिडका कर्यकारी निर्देशक वाइ के दीक्षितले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को साउन १९ गतेको बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत सेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । करिब छ अर्ब लागत अनुमान गरिएको आयोजनामा संयुक्त कम्पनीले २० प्रतिशत स्वपुँजीका रूपमा लगानी गर्ने र बाँकी रकम ऋण लिने सहमति छ ।
सम्झौतामा हस्ताक्षरपछि प्रसारण लाइनअन्तर्गत भारत तर्फको खण्ड निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०÷५० प्रतिशत संस्थापक सेयररहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको कार्यकारी निर्देशिक घिसिङले बताउनुभयो ।
बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको लम्बाइ १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ २० किलोमिटर पर्छ भने भारतर्फ १०० किलोमिटर पर्छ । नेपाल खण्डको प्रसारण लाइन नेपाल आफैँले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०÷५० प्रतिशत सेयरस्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्नेछन् ।
प्रसारण लाइनले करिब दुई हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताउनुभयो । अहिले सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारण लाइनले भन्दा बुटवल–गोरखपुर प्रसारण लाइनले झण्डै डबल क्षमतामा विद्युत् प्रवाह गर्नसक्ने उहाँले बताउनुभयो ।
विद्युत् व्यापारबारे छलफल
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् बिक्रीका सम्भावनाबारे भारतीय अधिकारीसँग छलफल गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजना उत्पादित विद्युत् बर्खाको समयमा मुलुकभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि घिसिङ नेतृत्वको टोली व्यापारको बन्दोबस्ती गर्न भारततर्फ गएको थियो ।
टोलीले भारतको विद्युत् मन्त्रालय, केन्द्रीय विद्युत् प्राधिकरण, विहारस्टेट पावर होल्डिङ कम्पनी लिमिटेड र नेपालसँग विद्युत् व्यापार गरिरहेका भारतीय कम्पनीसँग छलफल गरेको थियो । नेपालमा जगेडा भएको विद्युत् भारतमा र बङ्गलादेशमा बिक्रीका लागि भारतीय अधिकारीसँगको छलफल सकारात्मक रहेको घिसिङले बताउनुभयो ।